फागुनभित्र ५० प्रतिशत विकास बजेट खर्च गर्नै पर्ने

फागुनभित्र ५० प्रतिशत विकास बजेट खर्च गर्नै पर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

फागुन मसान्तभित्र ५० प्रतिशत बजेट खर्च गर्नुपर्ने भएपछि विकास बजेट धेरै भएका मन्त्रालयलाई चुनौती थपिएको छ। चालु आर्थिक वर्षको चौमासिक प्रगति समीक्षापछि प्रधानमन्त्री कार्यालयले मन्त्रालयमा पठाएको निर्देशनमा दोस्रो चौमासिक (फागुन मसान्त) भित्र ५० प्रतिशत बजेट खर्च गरिसक्नु पर्ने उल्लेख छ। पहिलो चौमासिकमा ६ प्रतिशत अर्थात् करिब साढे २४ अर्ब रुपैयाँ मात्र खर्च भएको छ।

दोस्रो चौमासिकको अन्त्यसम्म २ खर्ब चार अर्ब रुपैयाँ खर्च गरिसक्नु पर्ने भएको छ। यो निर्देशन पालना गर्न दैनिक औसत १ अर्ब ४८ करोड रुपैयाँ खर्च गर्नुपर्छ। गत आर्थिक वर्षको फागुन मसान्तसम्म पुँजीगत खर्च ३३.५८ प्रतिशत खर्च भएको थियो।

विगत वर्षमा जस्तै पुँजीगत खर्च सुस्त हुने समस्या यो वर्ष पनि दोहोरिएको छ। विकास खर्च नहुँदा यसले अर्थतन्त्रमा प्रतिकूल प्रभाव पारेको छ। सरकारले विकास निर्माणको खर्च बढाउन नसकेका कारण बैंकिङ क्षेत्रमा समेत लगानीयोग्य पुँजीको अभाव भएको छ।

अर्थशास्त्री डा.डिल्लीराज खनाल, पूर्वाधार निर्माण सुस्त हुँदा अर्थतन्त्रको उत्पादनशील क्षमता बढ्न नसकेको बताउँछन्। ‘निर्माण सम्पन्न हुने चरणमा रहेका पूर्वाधारलाई आवश्यक बजेट विनियोजन गरी समयमा सम्पन्न गर्न तीव्रता दिनुपर्छ, उनी भन्छन्, ‘प्राथमिकताका आयोजनालाई समयमा सम्पन्न गराउन सघन अनुगमन र त्यसका अवरोध समाधानमा सरकार तत्पर हुनुपर्छ।
अन्नपूर्णबाट

Logo