ऊर्जामा ढुक्क भएर लगानी गर्नुस् : अर्थमन्त्री

ऊर्जामा ढुक्क भएर लगानी गर्नुस् : अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
अर्थमन्त्री डा युवराज खतिवडाले ढुक्क भएर नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

पावर समिट, २०१९ को ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी र क्षेत्रीय विकास’ विषयक सत्रलाई शुक्रबार सम्बोधन गर्दै उहाँले विदेशी बैंक तथा अन्तर्राष्ट्रिय वित्त साझेदारलाई ऊर्जामा लगानीका लागि आग्रह गर्नुभएको हो । नेपालमा इन्धनमार्फत उत्पादन हुने ऊर्जाको खपत धेरैमात्रामा रहेकाले यसलाई केही वर्षभित्रै १५ प्रतिशतले कम गर्ने उहाँको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य अनुसार नै नेपालमा विकासका काम कारवाही अगाडि बढिरहेकाले नवीकरणीय ऊर्जामा लगानी गरेर प्रतिफल लान कुनै समस्या नभएको उनको भनाइ थियो । “म विदेशी लगानीकर्तालाई नेपालको समग्र ऊर्जामा लगानी गर्न आह्वान गर्दछु । लगानीको प्रतिफल फिर्ता लैजान नेपालले सहज वातावरण सिर्जना गरेको छ । कुनै समस्या छैन ।”

सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरहेको जानकारी दिँदै उहाँले आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई बढाएर एक हजार ५०० युनिट बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । नेपालका बैंकले उत्पादनमूलक क्षेत्रमा गरेको लगानीले गति लिँदै गरेकाले पनि निजी बैंक तथा वित्तीय संस्थालाई अहिलेकै गतिमा लगानी विस्तार गर्न आग्रह गर्नुभयो । “नेपालको जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न विशेष व्यवस्था गर्न लागिएको छ । यसका लागि सरकारले स्वदेश तथा विदेशमा सोही अनुसार लगानी जुटाइनेछ”, अर्थमन्त्री डा खतिवडाले भन्नुभयो ।

एशियाली पूर्वाधार विकास बैंकका महानिर्देशक यी यिन पाङले नवीकरणीय ऊर्जामा लगानी विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत् क्षेत्रका तीन वटा आयोजनामा लगानी गरिरहेको र निकट भविष्यमै ठूला आयोजनमा लगानीका लागि तम्तयार रहेको जानकारी दिनुभयो ।

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपालका बैंकले जलविद्युतमा लगानी विस्तार गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा लगानीकर्ता कुुशकुमार जोशीले नेपालमा जलविद्युुतका आयोजना समयमा नै नसकिने समस्या रहेको गुनासो गर्नुभयो ।

Logo