काठमाडौं ।
उखु किसानहरुले २१ दिनभित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरि आन्दोलन गर्ने बताएका छन् । सरकार र किसानहरुबीच सोमबार साँझ २१ दिनभित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ ।
सरकारले २१ दिन भित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका छन् । तर यो अवधि भित्रमा सबै भुक्तानी नपाए फेरि काठमाडौं आएर नयाँ स्वरुपमा आन्दोलन गर्ने किसानहरुको भनाई छ । उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले आफूहरुले उद्योगीबाट ९० कारोड रुपैयाँ लिनु पर्नेमा उद्योगीहरुले ६५ करोड रुपैयाँ मात्रै भुक्तानी दिन बाँकी भएको बताएकोले छानबिन गरि भुक्तानी दिलाउने सम्बन्धमा समेत सहमति भएको बताए। तर २१ दिनभित्रमा ६५ करोड रुपैयाँ मात्रै भुक्तानी हुनेछ । बाँकी रकम छानबिनको रिपोर्ट आएपछि सरकारले नै भुक्तानी गराईदिने जिम्मेवारी लिएको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बताए।
छानबिन समितिमा उद्योग मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयको तर्फबाट एक एक जना प्रतिनिधि रहनेछन् । यस्तै उद्योगीबाट १ जना, किसानबाट ३ जना र उखु किसान संघर्ष समितिबाट २ जना गरि १० जनाको छानबिन समिति गठन गर्ने सम्झौता भएको छ ।
सरकारले उद्योगीको पासपोर्ट जफत गरेको, बैंक खाता रोक्का गरेको, जग्गा विक्री रोकेको र भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न आदेश गरेको पत्र देखाएपछि रकम भुक्तानी नगर्ने उद्योगीलाई कारबाही हुन्छ भन्नेमा विश्वस्त रहेको किसानहरुले बताएका छन् । अबको २१ दिन अवधिमा के कति भुक्तानी हुन्छ निगरानी गर्ने पनि किसानहरुले बताएका छन् । किसानहरुले आफूले भुक्तानी पाउनु पर्ने सबै मूल्य पाउन नसकेको गुनासो पनि गरेका छन् । सरकारले तोकेको मूल्य भन्दा ३६ रुपैयाँ कममा मूल्य निर्धारण गरि भुक्तानी गर्ने उद्योगीहरुलाई पनि कारबाही गरिनु पर्ने र ब्याजसहित रकम असुली हुनु पर्ने किसानहरुको माग छ ।
उखु किसानहरुले उद्योगीबाट भुक्तानी दिलाईदिन माग गर्दै मंसिर २८ गते यता काठमाडौंको माइतीघर मण्डलामा बसेर आन्दोलन गर्दै आएका थिए । गत वर्ष पनि आन्दोलन गरेका किसानहरु सरकारको उपस्थितिमा एक महिना भित्रमा भुक्तानी पाउने सम्झौता गरेर घर फर्किएका थिए । तर उद्योगीहरुले एक वर्षसम्म पनि भुक्तानी नदिएपछि किसानहरु फेरि आन्दोलन गर्न काठमाडौं आएका हुन् ।































प्रतिक्रिया