काठमाडौं ।
पठाओ राइडर चालकहरुले विगत केही दिनदेखि आन्दोलन गर्दै आएका थिए । राइडरहरुले कमिसन घटाउनु पर्ने तथा दुर्घटना बीमा हुन पर्ने माग राख्दै आएका थिए ।
तर पठाओले राइडरहरुको माग सम्बोधन नभएकाले आज कार्यालयमा नै तोडफोड गरेका छन् । राइडरहरुले आन्दोलन चर्काएपछि पठाओ नेपालले हरेक राइडरचालक तथा ग्राहकका लागि ६ लाखसम्मको दुर्घटना बीमा गरेको छ ।
राइडरहरुको माग अनुसार कम्पनीले एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पुस ९ गते दुर्घटना बीमा गरेको जनाएको छ । पठाओले दुर्घटनाबाट मृत्यु, अपांगता भएमा पाँच लाखसम्मको दुर्घटना बीमा र एक लाखसम्मको औषधि उपचार बीमा गरिएको जनाएको छ । कम्पनीले विगत २ वर्षदेखि बीमाको योजना बनाएपनि विभिन्न इन्स्योरेन्स कम्पनीहरुसँग पहल गर्दा सम्झौता हुन नसक्दा ढिलाई भएको कम्पनीका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले बताएका छन् ।
बस्न्यातका अनुसार पठाओको मोबाइल एपमा ७५ हजारभन्दा बढी राइडरहरु तथा १२ लाख भन्दा बढी सेवाग्राहीहरु रहेका छन् । कम्पनीले राइडरहरुले राखेका धेरै मागका विषयमा सम्बोधन गर्न नसक्ने र केही विषयमा कम्पनीले अध्ययन गरिरहेको जनाएको छ ।





























प्रतिक्रिया