खाद्यान्न र खानेतेलमा अस्वभाविक मूल्यवृद्धि रोकिएन, अनुगमनकारी निकाय अझै मौन

खाद्यान्न र खानेतेलमा अस्वभाविक मूल्यवृद्धि रोकिएन, अनुगमनकारी निकाय अझै मौन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तीन महिनादेखि लगाताररुपमा बजारमा खाद्यान्न र खानेतेलमा मूल्य बढिरहेको छ । अहिले बजारमा भटमास र सूर्यमुखी तेलको मूल्य विभिन्न ब्राण्डको नाममा मनपरी ढंगले वृद्धि भएको छ । तर अनुगमनकारी निकाय तीन महिनासम्म पनि मुकदर्शक बनेर बसेको छ ।

त्यतिमात्रै होइन नेपाली जनतालाई सर्वसुलभ बजारको व्यवस्था गर्ने अठोट राखेका नेताहरु पद र आन्तरिक खिचातानीमा लागेका छन् । जसले गर्दा जनता मूल्यवृद्धिको मार खेपिरहेका छन् ।

व्यापारीहरुले होलसेल बजारमा नै खाद्यान्न तथा तेलको मूल्य बढेर आएकाले त्यही अनुसार बिक्रि गर्नु परेको गुनासो गरेका छन् । उनीहरुले लगातार रुपमा बजारमा खाद्यवस्तुको मूल्यवृद्धि हुँदा व्यापारी र उपभोक्ता दुबैलाई मार परेको बताएका छन् । अहिले बजारमा उपभोक्ताले खाद्यवस्तु र तेलको मूल्य पसलैपिच्छे फरकफरक पाइने गरेका छन् । बजारमा तीन महिनामा खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैंयाँसम्म बढेको छ ।

खानेतेल लगायत अन्य खाद्यवस्तुहरुको मूल्य ५० प्रतिशतसम्म बढेको खुद्रा व्यापार संघले जनाएको छ । तर राष्ट्र बैंकको पछिल्लो रिर्पोटमा आर्थिक वर्षको असोज महिनामा ६.२१ प्रतिशतले बढेको मूल्यवृद्धि कात्तिक महिनामा ०.७७ प्रतिशतले घटेर ५.५० प्रतिशतमा झरेको देखाएको छ । बजार भने सरकारी तथ्याङ्कमा देखाए जस्तो छैन ।

खुद्रा व्यापारीहरुका अनुसार पछिल्लो दुई महिनामा सूर्यमूखी र भटमासको तेलको मूल्य प्रतिलिटर ५० देखि ६० रुपैंयाँसम्मले वृद्धि भएको छ । बजारमा दशैंतिहारसम्म १३० देखि १४० रुपैंयाँ प्रतिलिटरसम्म पर्ने सोयबिन तेल अहिले १९० देखि १९५ रुपैंयाँ र १६० रुपैंयाँसम्म पर्ने सनफ्लावर तेलको मूल्य प्रतिलिटर ४० रुपैंयाँ बढेर दुई सय रुपैंयाँ भन्दामाथि पुगेको छ ।

तर बजार मूल्य उपभोक्ताको पहुँच भन्दा बाहिर जाँदा पनि सरकारी अनुगमन गर्ने निकाय भने मौन बसेको छ । बजारमा तेलको मूल्यवृृद्धिले सीमा नाघ्न थालेकाले सम्बन्धित निकायका उपभोक्ताकर्मीहरुसँग अनुगमनकारी सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छलफल गरेर अगाडि बढेको बताएको छ । उपभोक्ताहरुको गुनासो आउन थालेकाले बजार अनुगमन तिव्ररुपमा अगाडि बढाएको विभागका प्रवक्ता शिव सेंढाइले बताए ।

विभागले बजार अध्ययन गर्दा मूल्य बढेको पाइएको र उत्पादक र बिक्रेताहरुसँगको छलफलमा अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि यसको असर परेको बताएको उनको भनाइ छ । नेपालमा अन्तर्राष्ट्रिय बजारबाट ब्ल्याकमा तेल भित्रिने र नेपालमा प्याकेजिङ गरेर बिक्री गरिने भएकाले अब विभागले अनुगमन पनि बढाउने सेंढाइको भनाइ छ ।

नेपालबाट चालु आर्थिक वर्षको ५ महिनामा सबैभन्दा धेरै निर्यात हुने वस्तु भटमासको तेल रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाँच महिनामा ३ अर्ब ८ करोड रुपैंयाँ बराबरको भटमास तेल भारततर्फ निर्यात भएको छ । व्यवसायीहरूले तेस्रो मुलुकबाट भटमासको कच्चा पदार्थ आयात गरेर नेपालमा पुनः रिफाइन गरि भारत पठाउँदै आएका छन् ।

त्यस्तै, दाल, गेडागुडी, पिठोको पनि हप्तैपिच्छे मूल्य बढिरहेको छ । खाद्यान्नमा पनि उत्पादक र होलसेलबाट नै मूल्य बढेर आएको व्यवसायीहरूले बताउने गरेका छन् । खाद्यान्नको बजार विगत ३ महिनादेखि महंगिएको छ । तर अनुगमनकारी निकायले अनुगमन बढाएको बताउँदै आए पनि व्यवसायीलाई पहिले जसरी जरिवाना भएको पाइएको छैन । विभागका अनुसार तेल, खाद्यान्नको मूल्यवृद्धि  पछि २० जनाको ४ वटा टोलीले उपत्यकाका खाद्यान्न, कपडा, इलेक्ट्रोनिक, फर्निचर र फार्मेसी लगायतका व्यवसायिक फर्म तथा पसलको दैनिक अनुगमन गरिरहेको छ।

Skip This
Skip This
Logo