राष्ट्र बैंक भन्छ : सर्वसाधारणको रकम सुरक्षित छ

राष्ट्र बैंक भन्छ : सर्वसाधारणको रकम सुरक्षित छ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भन्नुभयो, “आम नागरिकको खातामा रहेको रकम सुरक्षित छ । कुनै चिन्ता लिनुपर्दैन”, उहाँले बैंक तथा वित्तीय संस्थालाई समेत ढुक्क भएर कारोवार गर्न र सेवाग्राहीलाई सेवा दिन आग्रह गरिएको जानकारी दिनुभयो ।

चिनियाँ नागरिकले शनिबार साँझ दरबारमार्गको एटिएमबाट एक करोड पाँच लाख भारतीय रुपैयाँ र एक करोड ७६ लाख निकालेका थिए । बैंकिङ सुरक्षाको विषयमा कुनै कमजोरी भयो भन्ने विषयमा केन्द्रीय बैंकले केही निष्कर्ष निकाल्यो त ? भन्ने प्रश्नमा प्रवक्ता निरौलाले भन्नुभयो, “त्यस विषयमा सम्बन्धित क्षेत्रका जानकार तथा विज्ञ सम्मिलित अध्ययन समिति बनाएर तथ्यहरुको छानविन गर्छौं ।”

उहाँले बैंक तथा वित्तीय संस्थालाई पनि थप सर्तकर्ता अपनाउन समेत निर्देशन दिइएको छ । एटिएमबाट पैसा झिक्नका लागि नबिल बैंक, नेपाल एसबीआई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम प्रयोग गरिएको छ । चिनियाँले प्रभु बैंक, एनआइसी एशिया, जनता, ग्लोबल आइएमइ बैंक र सनराइज बैंकका एटिएम बुथबाट पैसा निकालिएको छ ।

प्रहरीले एटिएमबाट पैसा लुटने चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । बैंकको एटिएम वरिपरि शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरीले केहीलाई दरबारमार्गबाट र केहीलाई हात्तीसारबाट पक्राउ गरेको थियो ।

आठ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री हुँदै

यसैविच नेपाल राष्ट्र बैंकले आठ अर्ब ६५ करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये तीन अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्ब ५२ करोड बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
रासस

Logo