सुनको मुल्य प्रतितोला ७० हजार नाघ्ने संकेत

सुनको मुल्य प्रतितोला ७० हजार नाघ्ने संकेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली नारीहरुको महान् चाड तीजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।

पछिल्ला केही दिन यता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय र तेजावी सुन ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार मात्रै इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ, यसबाट पनि सुन महंगिएको छ । भारतमा जम्बू–कश्मिरमा फैलिएको आतंकका कारण पनि नेपाली सुन बजार प्रभावित भएको हो । यहि अवस्था कायम रहे सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँभन्दा माथि नजाला भन्न सकिँदैन ।

 

अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिका लगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महङ्गिएको सुन व्यवसायीहरुको भनाइ छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिका र चीनबीचको व्यापार युद्ध लगायत विविध कारणले नेपालीमा सुनचाँदीको मूल्य बढेको बताउनुभयो । उहाँले आइतबार मात्रै इरानले तेलको ट्यांकर रोकेको तथा भारतको जम्बु काश्मिरमा आएको राजनैतिक तनावका कारण नेपाली बजारमा सुनचाँदीको भाउ अचाक्ली बढेको उल्लेख गर्नुभयो ।

अहिले सुन पसलमा पुराना सुनहरु थुप्रिएको बताउँदै उहाँले वाणिज्य बैंकहरुलाई सुन किन्न आग्रह गरिएको समेत बताउनुभयो । यद्यपी वाणिज्य बैंकहरुले यसबारे ध्यान नदिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘हामीकहाँ रहेको पुराना सुन वाणिज्य बैंकहरुले किनिदिए केही सहज हुन्थ्यो, तर उहाँहरुले नकिन्ने बताउँदै आउनु भएको छ ।’ उहाँले सरकारले समन्वय गरि पुराना सुनहरु वाणिज्य बैंकहरुले किन्ने व्यवस्था मिलाईदिए सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo