बीवाईडी गाडीको ब्याट्री बिग्रिए परिवर्तन गर्दा कति लाग्छ खर्च ?

बीवाईडी गाडीको ब्याट्री बिग्रिए परिवर्तन गर्दा कति लाग्छ खर्च ?

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । इलेक्ट्रिक भेहिकल (ईभी) गाडीको सबैभन्दा महत्वपूर्ण भागको रूपमा ब्याट्रीलाई लिइन्छ । ब्याट्री क्षमता र गाडीमा भएको सुविधाका आधारमा पनि धेरै कम्पनीहरूले गाडी मूल्य निर्धारण गर्ने गर्दछन् । ईभी गाडीका ब्याट्रीमा पाइने वारेन्टीपछि यदि फेर्नुपर्ने अवस्था आयो भने कति खर्च लाग्छ भन्ने विषयको कौतूहलता पक्कै होला ।

बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नेपालमा ईभी कारको बिक्री वितरण गर्न थालेको लामोसमय भइसकेको छ । बीवाईडीको ईभी धेरैको रोजाइमा पर्ने मध्येको कार पनि हो । नेपालमा आधुनिक फिचरसहित सुविधा सम्पन्न बीवाईडीका ईभी गाडी सार्वजनिक हुने क्रम जारी छ । उक्त कम्पनीले बिक्री गर्दै आएको ईभीका गाडीको उपस्थिति सडकमा दिनहुँ बढ्दै गएको छ । साईमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार बीवाईडीका गाडी नेपाली सडकमा एक हजार भन्दा बढी बिक्री भई सञ्चालन भइरहेका छन् ।

ईभी गाडीमा प्रयोग भएको ब्याट्री निश्चित समयपछि बिग्रिने र परिवर्तनको लागि ठूलो खर्च हुने डरले ग्राहकहरू ईभी गाडी किन्नबाट ब्याक भइरहेका पनि छन् । तर, बीवाईडीको गाडीमा प्रयोग भएको ब्याट्री वारेन्टी अवधिभित्र बिग्रिए निःशुल्क परिवर्तन गर्ने मिल्ने कम्पनीले जनाएको छ ।

ब्लेड ब्याट्री प्रयोग भएका बीवाईडी गाडी सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त रहेको साईमेक्स इंकका सर्भिस हेड सुशील तण्डुकारले जानकारी दिए । साइमेक्स इंकले ब्लेड ब्याट्री ‘नेल पेनीट्रेसन टेष्ट’ गरिसकेको छ । जुन परीक्षणले बीवाईडी गाडीमा प्रयोग भएको ब्याट्री सुरक्षितका साथै गुणस्तर रहेको विषय झल्काइसकेको छ ।

तण्डुकारका अनुसार बीवाईडीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएर गाडीको बिक्री गर्दै आएको छ । ‘बीवाईडीका गाडीमा प्रयोग भएको ब्याट्री निकै गुणस्तर छ, यसलाई लामो समयसम्म सुरक्षित प्रयोग गर्न सकिन्छ, अहिलेसम्म बीवाईडीको ब्याट्रीमा समस्या देखिएको छैन,’ उनले भने । बीवाईडीको गाडीमा प्रयोग भएको ब्याट्री बिग्रिए पूर्ण रूपमा नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । ब्याट्रीको सेलमा समस्या आए पनि पुरै ब्याट्री परिवर्तन गर्नुपर्ने हुन्छ ।

‘टेक्नोलोजीवाइज ब्याट्रीको सेलहरू परिवर्तन गर्न मिल्ने हो, तर अहिलेसम्म ब्याट्रीको सेल मात्र बिग्रिए त्यसलाई सुधार गर्न सक्ने प्रविधि नेपाल आएको छैन, सम्भवत यो प्रविधि पनि छिट्टै आउला, ब्याट्रीको वारेन्टी भएकाले समस्या आए ब्याट्री पूर्ण परिवर्तन गर्न सक्षम छौं,’ सर्भिस हेड तण्डुकारले केन्द्रबिन्दुसँग भने ।

यदि वारेन्टी सकिएर ब्याट्री बिग्रिए गाडीको अधा मूल्य ब्याट्री परिवर्तन गर्दा खर्च हुने बताइएको छ । गाडी दुर्घटना परे, ड्यामेज भए, गाडी पानीमा डुबेर समस्या आए त्यसको रिकभर बीमा कम्पनीले गर्ने तण्डुकारले जानकारी दिए । त्यसबाहेक अन्य समस्या आए कम्पनीले व्यहाेर्ने छ । ‘बीवाईडी गाडीको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिइएको छ, त्यो समय अवधिसम्म पक्कै पनि नयाँ प्रविधि आउँछ र मलाई लाग्छ ब्याट्रीको मूल्य पनि सस्तो पर्न जान्छ, त्यसैले ईभीका प्रयोगकर्ताले ब्याट्रीको विषयलाई लिएर चिन्ता गर्नुपर्ने अवस्था म देख्दिनँ,’ उनले भने ।

ब्याट्री बिग्रिएपछि उक्त ब्याट्री पावर ब्याकअपको रूपमा प्रयोग अथवा रिसाइकलमा पठाइने बताइएको छ । ईभी गाडीको ब्याट्रीको समय अवधि बढाउनको लागि चार्जिङमा ध्यान पुर्याउनुपर्ने तण्डुकारले बताए । ईभी गाडीको तार मुसाले काट्ने सम्भावना पनि उत्तिकै हुन्छ । उनका अनुसार बेलाबेला सर्भिसिङ गराइराख्दा गाडी कन्डीसनमा हुन्छ ।

नेपालमा बीवाईडीका बीवाईडी अटाे ३, अल न्यू ई६, बीवाईडी डल्फिन र बीवाईडी सिल गरी ४ वटा माेडलका गाडी बिक्री वितरण हुँदै आएका छन् । अल न्यू ई६ मा ७०, बीवाईडी डल्फिनमा ४४.९ र बीवाईडी सिलमा ८२.५६ किलाेवाट आवरका ब्याट्री जडान भएका छन् । बीवाईडी अटाे ३ मा भने ५० र ६० किलाेवाट आवरका ब्याट्री जडान भएका दुई भेरियन्टका ईभी गाडी उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

Logo