वित्तीय संस्थाबारे गरिएको दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण

वित्तीय संस्थाबारे गरिएको दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा बैंक डुब्न लागेको भनेर हल्ला भएपछि नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

राष्ट्र बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पूँजी कोष, कर्जा निक्षेप अनुपात र तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको बताएको छ ।

‘कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासनलगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ’, राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको राष्ट्र बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको राष्ट्र बैंकले जनाएकाे छ । बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलाग्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

Logo