पोकर रनको १४ औँ संस्करण चैत ३० देखि सुरू हुने

पोकर रनको १४ औँ संस्करण चैत ३० देखि सुरू हुने

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। पोकर रनको नयाँ संस्करण आगामी अप्रिल १२ अर्थात चैत ३० देखि सुरू हुने भएको छ। काठमाडौंबाट रोयल इन्फिल्ड लगायतका विभिन्न मोटरसाइकल राइडर सहभागी टोली पोखरा पुगेर रमाइलो गर्ने कार्यक्रम रहेको छ।

चैत ३० का दिन नेपाल पर्यटन बोर्डको प्रांगणबाट राइडरहरुको टोली पोखराका लागि प्रस्थान गर्नेछ । उनीहरुले पहिलो कार्ड यही संकलन गर्नेछन् । त्यसपछि दोस्रो कार्ड नौविसेमा संकलन हुनेछ भने मुग्लिनमा तेस्रो र पोखरा भन्दा ३५ किलोमिटर यता अकला हाइवेमा चौथो कार्ड संकलन हुनेछ ।

कार्यक्रममा रोयल इन्फिल्ड सहित ३०० सिसी माथीका क्लासिक बाइक राइडर सहभागी हुनेछन्। नेपालका विभिन्न भागका राइडरका साथै विदेशबाट समेत सहभागी हुने बताइएको छ।

एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सन् २००९ देखि गर्दै आएको पोकर रनको यस पटक १४ औं संस्करण हो। यस पटक २०० भन्दा बढी राइडर सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

निश्चित स्थानबाट प्रारम्भ हुने पोकर रन गन्तव्यसम्म पुग्दा ५ वटा बिन्दु निर्धारण गरिएको हुन्छ। राइडरहरुका लागि पोकर हात पार्नु यो इभेन्टको मुख्य उद्देश्य हो। तर यो भन्दा वाहेक विभिन्न तरिकाले डिजाइन गरिएको आफ्नो मोटरसाइकल शो गर्नु पनि यसको अर्को आकर्षण हो । बेस्ट इन्फिल्ड अर्थात ओरिजिनल डिजाइन र बेस्ट कस्टमाइज्ड मोटरसाइकललाई सो अवसरमा पुरस्कृत समेत गरिने छ ।

त्यसैगरी बेस्ट सपोर्टिङ वुमन राइडरका साथै सबैभन्दा लामो दुरी पार गरी कार्यक्रममा भाग लिन आउने राइडरलाई ‘द लङगेस्ट डिस्टेन्स राइडर’, सबैभन्दा धेरै उमेरको राइडरलाई ‘सिनियर सिटिजन्स अवार्ड’ र सबैभन्दा धेरै ब्रेकडाउन हुने मोटरसाइकललाई ‘हार्ड लक अवार्ड’ प्रदान गरिने छ ।

अन्तिम गन्तव्य पोखरा ल्याण्डमार्क होटलमा पाँचौ कार्ड संकलन हुनेछ । त्यही नै सहभागीहरुले लाइभ ब्यान्ड, बार्बेक्यु, डिनर सहित उत्साहपूर्वक नयाँ वर्ष २०८१ मनाउने छन् । पोकर रनमा सहभागी हुन चाहने इच्छुकले आफ्नो नाम दर्ता गराउनुपर्नेछ ।

Logo