व्यापारघाटा १७ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब पुग्यो

व्यापारघाटा १७ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा कुल वस्तु व्यापारघाटा १७.२ प्रतिशतले विस्तार भई १२ खर्ब ११ अर्ब ९६ करोड रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ महिनासम्म निर्यात–आयात अनुपात ६.८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.६ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूर्जा, तयारी पोसाक, एमएस बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ । सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।

उक्त अवधिमा कुल वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि भई ८७ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय र नेपालगन्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

०७६ जेठ महिनामा भन्सार तथ्यांकमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकांक २.४ प्रतिशत र आयात मूल्य सूचकांक १.९ प्रतिशतले बढेको छ । ०७५ जेठ महिनामा वार्षिक बिन्दुगत आधारमा ४.४ प्रतिशतले घटेको व्यापारको शर्त ०७६ जेठ महिनामा ०.५ प्रतिशतले बढेको छ ।
नेपाल समाचारपत्रबाट

Logo