टोयोटा र टेबुल टेनिस खेलाडी नबिता श्रेष्ठबीच साझेदारी

टोयोटा र टेबुल टेनिस खेलाडी नबिता श्रेष्ठबीच साझेदारी

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । टोयोटा मोटर कर्पोरेसनको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस)ले राष्ट्रिय टेबल टेनिस च्याम्पियन नबिता श्रेष्ठसँग साझेदारी गरेको छ । कम्पनीले टोयोटाको ग्लोबल इनिसिएटिभ ‘स्टार्ट योर इम्पोसिबल’का लागि श्रेष्ठसँग साझेदारीको घोषणा गरेको हो । 

श्रेष्ठसँग भएको सहकार्यले खेलकुद जगतलाई बढावा दिन महत्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । टेबल टेनिस खेलमा ९ पटकको राष्ट्रिय विजेता श्रेष्ठ विसं २०६७ देखि २०८० सम्म लगातार च्याम्पियन बनेकी थिइन् । उनले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, वर्ल्ड टेबल टेनिस च्याम्पियनसिप र एसियन च्याम्पियनसिप जस्ता अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पनि आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छिन् ।   

कार्यक्रममा बैद्यज् अर्गनाइजेशनका निर्देशक सूर्यान्स बैद्यले यो साझेदारीले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउँदै नबितासँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको पनि व्यक्त गरे । 

यो साझेदारीसँगै नबिता विश्व ब्रान्डको प्रतिनिधित्व गर्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । उनले २ सय अन्य खेलाडीसहितको ग्लोबल टिम टोयोटा एथ्लेटको रूपमा टोयोटाको प्रतिनिधित्व गर्नेछिन् । नबिता यो सहकार्यसँगै आफ्नो खेल जीवन अगाडि बढाउनुका साथै सामाजिक काममा समेत संलग्न हुनेछिन् । 

कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले यो नेपाली खेलाडीको लागि गौरवको दिन भएको बताए ।  ‘यो स्वीकृति ओलम्पिक खेल जस्ता प्रतिष्ठित खेलहरूमा स्थानीय खेलाडीहरूको योग्यता यात्रामा रहेको खाडललाई बन्द गर्नको लागि एक महत्त्वपूर्ण कदम हो, टोयोटा र नबिताबीचको साझेदारीले स्थानीय खेलकुद प्रतिभालाई पनि उत्प्रेरित गर्ने सकारात्मक प्रभाव पर्ने छ,’ उनले भने । 

यस्तै, टोयोटासँगको साझेदारीलाई चुनौती र अवसर दुवै रूपमा लिएको श्रेष्ठ बताउँछिन् । ‘यो मेरा लागि अवसर र चुनौती दुवै हो, नेपालमा पनि कडा मिहिनेत गरेर आफूलाई अगाडि बढाउनेहरूको सम्मान हुन्छ, खेलका माध्यमबाट केही गर्न सकिन्छ भन्ने यो उदाहरण पनि हो,’ उनले भनिन् ।

Logo