९० हजार मेट्रिक टन मल ल्याइँदै

९० हजार मेट्रिक टन मल ल्याइँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मध्य असारमा रासायनिक मल अभाव भइरहेको बेला सरकारी स्वामित्वको संस्थानले ९० हजार मेट्रिक टन मल किनेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन युरिया र ४० हजार टन डिएपी मल खरिद गरेर ल्याउन लागेका हुन् । सरकारको निर्णय अनुसार यी दुई संस्थानले सहुलियतमा रासायनिक मल खरिद गरेर बिक्री गर्दै आएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार खरिद गरेको २० हजार टन डिएपी कलकत्ता आइपुगेको छ । २० हजार मेट्रिक टन युरिया आउने क्रममा छ । बजारमा रासायनिक मलको अभाव हुन नदिन मल खरिद गरेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बताए । ‘धान रोपाइँमा मल अभाव हुन नदिन छिटो ल्याउने प्रयास गरिरहेका छौं,’ झाले भने, ‘डिएपी मल एक–दुई दिनमै कलकत्ताबाट चलान हुन्छ ।’

त्यसैगरी, कृषि सामग्री कम्पनीले पनि ३० हजार टन युरिया र २५ हजार टन डिएपी खरिद गरेको छ । कम्पनीका अनुसार उक्त मल साउन दोस्रो सातासम्म आइपुग्छ । आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी ५५ हजार मेट्रिक टन मल खरिद गरिएको हो ।

अहिले ती दुई संस्थासँग २८ हजार चार सय ७५ मेट्रिक टन मल मौज्दात छ । डिएपी सात हजार एक सय र युरिया २१ हजार चार सय ७५ टन मौज्दात रहेको ती संस्थाले जनाएका छन् । कृषि सामग्रीसँग डिएपी १५ सय र युरिया २० हजार टन मौज्दात छ । त्यसैगरी ११ हजार टन प्राप्त हुने क्रममा छ । कर्पोरेसनसँग १३ सय ७५ युरिया र डिएपी ५६ सय मेट्रिक टन मौज्दात रहेको जानकारी दिएको छ ।
नागरिकबाट

Logo