महेन्द्रनगर । भीमदत्त नगरपालिकाको पाँचौ नगर सभामा पेश गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरिएको छ । शुक्रबार आ.व. २०७६÷०७७ का लागि एक अर्ब २२ करोड ८२ लाख बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
नगर सभामा आगामी वर्षका लागि पारित गरिएको आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ पनि पारित गरिएका छन् । नगर सभा सदस्यहरुले सभामा पेश गरिएको कार्यक्रम नीति र बजेटसहित विधेयक अध्ययनका लागि सोमबारसम्म समय माग गरेपछि शुक्रबार सभा स्थगित गरिएको थियो ।
भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले वार्षिक नीति, कार्यक्रम, बजेट र विधेयक सर्वसम्मत पारित गरिएको बताए । ‘शुक्रबार सदस्यहरुज्यूले अध्ययनका लागि समय माग गरेपछि सोमबार सभा सञ्चालन गरी पेश गरिएका विषय वस्तुमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखे, ती धारणालाई सभाध्यक्ष, नगर सभा सचिवसहित सम्बन्धित अधिकारीले स्पष्ट गरेपछि सभामा निर्णयार्थ प्रस्तुत गरियो’ उनले भने, ‘त्यसलाई सबैले ताली बजाएर सर्वसम्मत रुपमा पारित गरे ।’
सोमबार लेखा समितिका संयोजक प्रताप तिरुवाले लेखा समितिको प्रतिवेदन, वडागत योजना र बजेट प्रस्तुत गरिएपछि शुक्रबार पेश गरिएको नीति, कार्यक्रम तथा बजेट र विधेयकमाथि सदस्यहरुले धारणा एवम् संशोधन पेश गरेका थिए ।
नगर सभा सदस्यहरु ईश्वरी प्रसाद जोशी, सन्तोसी साउँद, सुशिल कुमार भट्ट, प्रशान्त भट्ट, प्रेम बहादुर चन्द, सुशिला भट्ट, गणेशदत्त भट्ट, राम बहादुर जप्रेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
नीति, कार्यक्रम तथा बजेट पारित गरिएपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सभाका सदस्यहरुमा धन्यवाद ज्ञापन गर्दै सभा समापन गरे ।
सभा समापन गर्दै उनले भीमदत्त नगरपालिकाको विकास र समृद्धिका लागि सबै जनप्रतिनिधि एकजुट भएर जानको विकल्प नभएको उल्लेख गर्दै सर्वसम्मत पारित नीति, कार्यक्रम र बजेटले सकारात्मक सन्देश प्रवाह गरिएको बताए ।
पाँचौ नगर सभाबाट आगामी वर्षका लागि ६ ओटा संकल्प प्रस्ताव पारित गरिएका छन् । ती प्रस्तावमा मझगाउँ विमानस्थल सञ्चालनका लागि संघीय सरकारसंग अनुरोध गर्ने, भीनपा वडा नं. ९ मा लोपोन्मुख राउटेका लागि आवास निर्माणका लागि संघीय सरकारसंग अनुरोध गर्ने, मुक्त कमलहरी, मुक्त कमैया, सुनाहा जातीका साथै पिछिडिएका वर्गहरुका साथै एकल महिला, द्वन्द्व पीडित, अपांगता भएकाहरुका लागि नगर सभाबाट आवश्यक आयमुलक, सीपमुलक कार्यक्रम सञ्चालनका यस नगर सभाबाट आवश्यक बजेट विनियोजन गरिने लगायतका छन् ।
यसै गरी भीनपा वडा नं. १० को बुयाँदोल क्षेत्रलाई हरि उद्यान, चिडियाघर, पिकनिक स्थल निर्माणका लागि आवश्यक बजेट विनियोजनका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग अनुरोध गर्ने, सुदूरपश्चिम क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका व्यक्तित्वहरुको सम्मानका लागि प्रेम सिंह धामी प्राकृतिक सम्पदा संरक्षण पुरस्कार स्थापना र एन.डी. प्रकाश चटौतको सम्मानका लागि युवा पुरस्कार स्थापना गर्ने संकल्प प्रस्ताव पारित गरिएको छ ।































प्रतिक्रिया