मैजुबहाल चक्रपथ सडक ८ करोडमा कालोपत्रे, मेयर शाक्यद्वारा अनुगमन

मैजुबहाल चक्रपथ सडक ८ करोडमा कालोपत्रे, मेयर शाक्यद्वारा अनुगमन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बुधबार साँझपख काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईसहितको टोली चावहिल मैजुबहाल चक्रपथ पुग्यो । त्यही टोलीमा वडाध्यक्ष शुद्धकुमार डंगोल, महानगरका सहरी पूर्वाधार विभागका प्रमुख राम थापा लगायत पनि सहभागी भएका थिए ।

लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको करीब २ किलोमिटर बाटो मेयर शाक्यहितको टोली पुग्दा धमाधम कालोपत्रे भैरहेको थियो ।

कुनै दुर्गम गाउँमा गाडी पुग्दा उत्साहित भए जस्तै एक हुल स्थानीयले मेयर शाक्यसहितको टोलीलाई त्यहाँ पुग्ने वित्तिकै स्वागत गरे । त्यहि हुलमा सामेल भएका थिए मैजुबहाल चक्रपथका स्थानीय रविन्द्र पण्डित पनि । पण्डित त्यो टोली पुग्दा निकै दंग देखिएका थिए । लामो समयपछि घरै अगाडि धमाधम कालोपत्रे हुँदा पण्डित मात्रै होइन अन्य स्थानीय पनि दंग देखिएका थिए ।

मेयर शाक्यसहितको टोली अनुगमनमा आउँदा दंग परेका पण्डितले मेयर शाक्यसहितको टोलीलाई स्वागत गर्दै निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गरेकोमा धन्यवाद दिए । ‘चुनावी प्रचारमा आएका बेला बृहत् मैजुवहाल हाइट मार्गमा कालोपत्रे गर्ने, विजुलीका पोल सार्ने लगायतका कार्य सम्पन्न गर्ने प्रतिवद्धता मेयरज्युबाट भएको थियो । आज उनकै अगुवाईमा यो काम सम्पन्न भएको छ । हामी टोलवासी खुशी छौँ,’ पण्डितले भने, ‘विगत २०–२५ वर्षदेखि हामी महानगरवासी भए पनि बत्तीमुनीको अध्यारोमा थियौँ । कच्चीबाटोमा दिनहुँ धुलो–धुँवा खाएर हिलोमा लडिबुडी गर्दै आवत–जावत गर्न बाध्य थियौँ । अहिले हाम्रो टोलटोलमा धमाधम कालोपत्रे भएको छ ।

अनुगमनकै क्रममा भेटिएका टिका पराजुली पनि टोलटोलमा कालोपत्रे भएकोमा उत्साहित देखिए । ‘हामी लामो समयदेखि यहाँको दुर्दशाबाट परिचित छौँ । अब हिलो, धुलोमा दिनहुँ हिड्नु पर्ने वाध्यताबाट मुक्त भएका छौँ । ८–९ करोडको लगानीमा हाम्रो टोलमा यति छिटै यस्तो बाटो बन्ला, कालोपत्रे होला भन्ने सोचेकै थिएनौँ,’ उत्साहित हुँदै पराजुलीले भने, ‘नेताहरु चुनावका बेला ठूला–ठूला भाषण गर्ने र जितेपछि हराउने अनि एकैचोटी अर्को निर्वाचनमा आउने देखेका हामीलाई यो पटक चुनावताका गरेका प्रतिवद्धता पूरा हुँदा औधी खुशी लागेको छ । यसमा काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र वडाका जनप्रतिनिधि लगायतलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

करीब दुई घण्टा जतिको अनुगमनकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रमुख शाक्यले आफू निर्वाचित भएर आएपछिका तीन वर्षमा वडामा भएका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको बताए । ‘हामीले प्रत्येक वडाको विकास निर्माणका लागि बजेट पठाउने गरेका छौँ,’ उनले भने, ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ । यस्ताखाले अनुगमन ३२ वटै वडामा समय–समयमा गर्दै आएका छौँ ।’

उनले चुनाव प्रचारका बेला मैजुबहाल चक्रपथको कालोपत्रे गर्ने लगायतका काम आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै काम सम्पन्नको चरणमा आइपुग्दा खुशी लागेको बताए । ‘मैले चुनाव प्रचारका बेला लामो सयमदेखि अलपत्र परेको यो सडक निर्वाचित भएपछि मेरै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ । आठ करोड बढीको बजेट सानो होइन । ठूलो बजेटको काम भएकाले योजना पूरा नहुने हो कि भन्ने यहाँका स्थानीयको आशंका थियो ।

सल्लाहकार भट्टराईले सन्तोषजनकरुपमा काम अघि बढेकोमा खुशी व्यक्त गरे । उनले काठमाडौँ महानगरपालिकाको विशेष पहलमा काम सम्पन्न हुने चरणमा पुगेको भन्दै आगामी दिनमा यसको संरक्षणको दायित्व टोलबासीको भएको बताए । वडाध्यक्ष डंगोलले पनि उम्मेदवार बनेकै बेला निर्वाचित भएपछि विकास निर्माणको जिम्मा लिने प्रतिवद्धता व्यक्त गरेको भन्दै आज प्रतिवद्धता पूरा हुने चरणमा रहेको बताए ।

नगर विकासले अलपत्र पारेर छाडेको मैजुबहाल चक्रपथको कालोपत्रे गर्ने काम महानगरपालिकाले सम्पन्न गरेको बताए । ‘यो महानगरपालिकाको भौतिक पूर्वाधारको क्षेत्रमा शायद सबैभन्दा ठूलो बजेट हुनु पर्छ । यति धेरै बजेटमा यहाँको काम सम्पन्न गर्न पाउँदा खुशी लागेको छ,’ उनले भने, ‘अन्य विकास निर्माणका कामलाई पनि हाम्रै कार्यकालमा पूरा गर्ने गरी लाग्छौँ ।’ उनले मैजुबहाल चक्रपथको करीब २ किलोमिटर कालोपत्रे गर्ने, विजुलीका पोल सार्ने लगायतका कार्यका लागि करीब ८ करोड ५० लाखको योजना भएको थियो ।

Skip This
Skip This
Logo