दुई वर्षमा सिद्धबाबा सुरुङमार्गको काम ११ प्रतिशत मात्रै

दुई वर्षमा सिद्धबाबा सुरुङमार्गको काम ११ प्रतिशत मात्रै

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग आयोजना निर्माण शुरु भएको दुई वर्षमा ११ प्रतिशत काम सकिएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा निर्माणाधीन उक्त सुरुङमार्ग आयोजना कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले भौतिक प्रगति ११.०५ पुगेको देखाएको हो ।

निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ र सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबीच वि.सं. २०७८ फागुनमा ठेक्का सम्झौता भई उक्त सुरुङमार्ग काम अगाडि बढेको थियो । आयोजनाको लक्ष्य अनुसार काम नभएको देखिएता पनि हाल भने सुरुङमार्गको कामले गति लिन थालेको आयोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिए । उनका अनुसार समय अवधिभित्रै सक्ने लक्ष्य अनुरुप सुरुङमार्गको काम भइरहेको छ ।

‘सुरुङमार्गको कामले केही वर्ष अघिसम्म तीव्रता पाउन सकेको थिएन, आयोजनाको काम अगाडि बढाउँदै गर्दा विभिन्न समस्या आए, जसका कारण पनि काम ढिला भयो, अहिले अवरोधलाई सुल्झाउँदै आयोजनाको काम धमाधम भइरहेको छ,’ उनले भने ।

सुरुङमार्ग निर्माणका लागि ठेकेदार कम्पनी चाइना स्टेटसँग भ्याटसहित ७ अर्ब ३४ करोड २१ लाख ४७ हजार ३४ ठेक्का सम्झौता भएको छ । जसमध्ये हालसम्म सुरुङमार्ग निर्माण गर्दा ३१ करोड ४१ लाख रुपैयाँ बढी खर्च भइसकेको इन्जिनियर सबिता ज्ञवालीले जानकारी दिइन् ।

ठेक्का सम्झौता भएको पाँच वर्ष अर्थात् सन् २०२७ मा उक्त सुरुङमार्गको काम सक्नुपर्छ । ज्ञवालीले अहिले सुरुङमार्गको स्लोप कटिङ एण्ड प्रोटेक्सन, नर्थ पोर्टल, साउथ पोर्टल, मेन टनेल र बाइपास टनेल पहिलो, दोस्रो र तेस्रो गरी ७ वटा क्षेत्रमा वर्गीकरण गरेर काम भइरहेको पनि बताइन् ।

आयोजना कार्यालयका अनुसार यस सुरुङमार्गको लम्बाई ११२६ मिटर रहेको छ । बुटवलतर्फ ९०४, टनेल खण्ड ९४४ र पाल्पा तर्फ ५५० मिटर गरी जम्मा २३ सय ९८ मिटर लम्बाई सडक स्तारोन्नती गर्नुपर्ने पनि बताइएको छ ।

कार्यालयका अनुसार तीन क्षेत्रमा वर्गीकरण ४३१ मिटरको बाइपास सुरुङको काम अगाडि बढाइएको छ । बाइपास १ मा १५५, बाइपास २ मा १४५ र बाइपास ३ मा १३१ मिटर बाइपास सुरुङ निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये तिन वटै बाइपास टनेलको कामले यति बेला द्रुत गति लिएको ज्ञवालीले बताइन् । ‘सुरुङको काम धमाधम भइरहेको छ, बाइपास १ मा १५.६, बाइपास २ मा ७ र बाइपास ३ मा ४ मिटर सुरुङ खन्ने काम सकिएको छ, सुरुङको काम अहिलेको अवस्थामा उत्साहजनक नै देखिन्छ,’ उनले भनिन् ।

सुरूङमार्गको विस्तृत अध्ययन, डिजाइन, विद्युत जडान, क्रसर प्लाण्ट, ल्याब र क्याम्प स्थापनालगायत गरी ६.४ प्रतिशत प्रगति भए पनि सुरूङ निर्माणको मुख्य काम दुवै तर्फका पोर्टल, बाइपास सुरूङ, स्लोप कटिङ लगायतका काम भने ४.३५ प्रतिशत मात्रै पूरा भएको छ ।

यस्तै, यस आयोजनाको उत्तरी र दक्षिणी प्रवेश द्वारमा दुई प्राविधिक भवन संरचनाहरू पनि बन्ने छन् । एमआर १ र २ खण्डको १८८ मिटर ढलान काट्ने र संरक्षण गर्ने काम भएको बताइएको छ । उत्तर पोर्टलको ढलान उत्खनन र प्राथमिक कार्य करिव ४५ प्रतिशत र उक्त क्षेत्रमा नै हेलिप्याड निर्माण गर्ने कार्य सम्पन्न भएको पनि ज्ञवालीले बताइन् । मुख्य सुरुङको दक्षिण पोर्टलबाट ४४.९ मिटर सुरुङ उत्खनन गर्ने काम भएको आयोजना कार्यालयले बताएको छ । सुरूङ मार्ग निर्माणपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

Logo