ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउँदा अर्थतन्त्र चलायमान हुने विश्वास

ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउँदा अर्थतन्त्र चलायमान हुने विश्वास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दरबारमार्ग र ठमेल वैशाख २०८१ देखि २४सै घण्टा सञ्चालनमा आउने भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त क्षेत्र २४सै घण्टा सञ्चालनमा ल्याउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

दरबारमार्ग र ठमेल २४सै घण्टा सञ्चालनमा आउने विषयको घोषणा गर्दै ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले यस क्षेत्रमा पर्यटनको आगमन पनि बढ्ने बताए । शर्माले ठमेल क्षेत्रबाट करिव ६० हजारले रोजगारी पाएको बताउँदै ८ हजार ५०० बढी व्यवसायी रहेको पनि बताए ।

‘दरबारमार्ग र ठमेल २४ औं घण्टा सञ्चालनमा ल्याउने विषयमा तीन तहका सरकारबीच छलफल भएको छ, सबै पक्षबीच सहकार्य गरी यस क्षेत्रलाई सञ्चालनमा ल्याउने भएका हौं, यस क्षेत्रलाई २४औं घण्टा सञ्चालनमा ल्याउँदा अर्थतन्त्र पनिचलायमान बनाउने विश्वास लिएका छौं,’ उनले भने ।

उनका अनुसार यो कार्यले नयाँ रोजगार सिर्जना साथै नयाँ व्यवसाय प्रवर्द्धन हुने अपेक्षा छ । उनले दरबारमार्ग र ठमेल २४औं घण्टा सञ्चालनमा ल्याउँदा यस क्षेत्रमा आर्थिक गतिविधि पनि बढ्ने बताए । यस क्षेत्रलाई सञ्चालनमा ल्याउनु अगावै सुरक्षाका दृष्टिकोणले पनि सहज बनाइएको बताए ।

‘हामीले प्रहरी प्रशासनसँग पनि कुरा गरेका छौं, कुनै पनि पर्यटन यहाँ आउँदा असुरक्षित भएको महसुस नहोस् भनेर सोही अनुरूपको कार्य गरेका छौं, यस विषयमा घरधनीहरू पनि सकारात्मक हुनुहुन्छ,’ उनले भने ।

यस्तै, दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जय अधिकारीले यस क्षेत्रलाई २४ सै घण्टा सञ्चालनमा ल्याउँदा आर्थिक साथै पर्यटन आगमन बढ्ने बताए । उनका अनुसार दरबारमार्गमा २०० बढी व्यवसायीले व्यापार गर्दै आएका छन् ।

गृह मन्त्रालयको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचार संहिता बमोजिम कानुनको परिधि भित्ररहि दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन हुनेछ । उक्त क्षेत्रमा २४ सै घण्टा सञ्चालनमा आउँदा बजारमा रौनकता छाउने, सामाजिक र आर्थिक असमानताको न्यूनीकरणमा सहायक भई विश्वसनीयतालाई कायम गर्ने विश्वास बोर्ड र परिषद्ले लिएको छ । यद्यपि ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले २४सै घण्टा व्यवसाय सञ्चालन गर्न नपाउने पनि अध्यक्ष शर्माले बताए ।

उनका अनुसार पूर्ण तयारी गरिसकेपछि मात्र सो क्षेत्र पनि २४ सै घण्टा सञ्चालनमा ल्याइने छ ।

‘पर्यटन क्षेत्र सहज रूपमा नाफा आर्जन गर्न सक्ने व्यवसाय हैन, यस क्षेत्रमा मुनाफा आर्जन गर्न सबै भौतिक पूर्वाधारहरू विदेशी पर्यटकहरू अनुकूल हुनुपर्छ,’ ‘शर्माले भने, ‘विदेशी पर्यटकहरूलाई शान्ति सुरक्षाको राम्रो अनुभूतिका साथै स्वच्छ वातावरणमा उच्च स्तरीय सेवा प्रदान गरे पश्चात् उनीहरूले पाउने सन्तुष्टि नै पर्यटन तथा सेवा व्यवसायीको मुनाफा हो ।’

शहरको वातावरणलाई पर्यटकहरूको अनुकूल बनाउँदै जान सके मात्र लगानी अनुरूप प्रतिफल प्राप्त गर्न सकिने पनि अध्यक्ष शर्माले बताए । जसमा नेपाल सरकारका जिम्मेवार निकायको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ । ‘यस क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न व्यवसाय पेसासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आबद्ध सबैले कानुनको दायरामा रहेर आफ्नो व्यवसाय सञ्चालन गरेको खण्डमा नेपालका व्यवसायले पनि अन्तर्राष्ट्रिय जगतमा शिर झुकाएर हैन, शिर उठाएर आफ्नो व्यवसाय सञ्चालन गर्ने वातावरणको सृजना हुनेछ,’ उनले भने ।

आर्थिक मन्दीको चपेटामा परेको उद्योग व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई यसले सहयोग पुर्याउने पनि अपेक्षा उक्त क्षेत्रका व्यवसायीहरुले लिएका छन् ।

Logo