काठमाडौं ।
सरकारलाई चालु आर्थिक वर्षको पहिलो चौमासमा अन्तर्राष्ट्रिय विकास सहायताको लागि प्रतिबद्धता उत्साहजनक रुपमा बृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारलाई आवको पहिलो चार महिनामा ९० अर्ब ५४ करोड ६५ लाख रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायताको लागि प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता आएकोमा चालु आवको सोही अवधिमा यो रकम बढेर ९० अर्ब ५४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
सरकारलाई प्राप्त अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामध्ये ७७ अर्ब ७१ करोड ६० लाख रुपैयाँ ऋण र १२ अर्ब ८३ करोड ५ लाख अनुदान सहायता रहेको अर्थ मन्त्रालयले जनाएको छ । कात्तिकसम्ममा वैदेशिक सहायता प्रतिबद्धता मध्ये ऋण सहायता ८५.५ प्रतिशत र अनुदानमा १४.२ प्रतिशत रहेको छ । गत आवको यही अवधिमा ऋण सहायता २१.२ प्रतिशत र अनुदानमा ७८.८ प्रतिशत रहेको थियो ।
चालु आवमा सरकारलाई सडक तथा सुशासन क्षेत्र (रणतीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजना) अन्तर्गत सबैभन्दा बढी ५५ अर्ब रुपैयाँको ऋण सहायता प्रतिबद्धता प्राप्त भएको छ भने उर्जा क्षेत्र विकासको लागि ऋण तथा अनुदान गरि २७ अर्ब ८७ करोड रुपैयाँ, स्वास्थ्य तथा कोरोनाको सहायताका लागि अनुदानतर्फ ४ अर्ब ७३ करोड रुपैयाँ, वन तथा वातावरण क्षेत्रको लागि अनुदानतर्फ १ अर्ब ७५ करोड सहायता प्राप्त भएको छ ।
यस्तै, शिक्षा क्षेत्र सुधारको लागि अनुदानतर्फ १ अर्ब ६१ करोड र भूकम्प पछिको पुनर्निर्माणको लागि ६० करोड बराबरको वैदेशिक अनुदान सहायता प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।





























प्रतिक्रिया