चालु आर्थिक वर्षको सबै योजना वैशाखमै सम्पन्न

चालु आर्थिक वर्षको सबै योजना वैशाखमै सम्पन्न

केन्द्रबिन्दु
42
Shares

मुग्लिन (चितवन) । चालु आर्थिक वर्षको अन्त्यतिर मात्र बजेट सकाउन हतारहतारमा योजना सञ्चालन गरी सम्पन्न गर्ने परिपाटी लामो समयदेखि चलिआएको छ । आवको अन्त्यतिर सरकारी योजना सकाउँदै बजेट भुक्तानी गर्ने परिपाटी छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ मा भने चालु आवका लागि सञ्चालित सम्पूर्ण योजनाको निर्माण वैशाख नसकिँदै सम्पन्न भएको छ । चालु आव २०८०/८१ को १० महिना बितिरहँदा उक्त वडामा सञ्चालित सबै योजना सम्पन्न भएका छन् । समयमै सम्झौता गरी सबै योजना सम्पन्न भएको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार वैशाखसम्म आइपुग्दा गाउँपालिका, प्रदेश र सङ्घीय साथै वडाको आफ्नो छुट्टै बजेटद्वारा सञ्चालित सबै योजना निर्माण सम्पन्न भइसकेका छन् ।

चालु आवमा इच्छाकामना गाउँपालिका–४ मा २० योजना सञ्चालित भएकामा १४औँ गाउँसभाबाट चार योजना थप भएका थिए । ती २४ योजनाको बजेट रु तीन करोड ३५ लाख रहेको वडाध्यक्ष उप्रेतीले जानकारी दिए ।

यसैगरी इच्छाकामना–४ मा सञ्चालित नयाँबस्ती, बेलडाँडा, लामिडाँडा हुँदै नाग्दीखोलासम्मको सडकको स्तरोन्नति बाहेक बाँकी योजना सम्पन्न भई भुक्तानी भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उनले भने, “नयाँबस्ती, बेलडाँडा, लामीडाँडा हँुदै नाग्दीखोलासम्मको सडक बाटो स्तरोन्नति योजनाको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ, बाँकी ४० प्रतिशत भुक्तानी केही दिनभित्रै हुन्छ ।”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामना– ४ मा सबै योजना सम्पन्न भएका र अन्य वडामा सञ्चालित चालु आवका सम्पूर्ण योजना निर्माणको अन्तिम चरणमा रहेका बताए । उनले भने, “चालु आवका सबै योजना निर्माणको अन्तिम चरणमा छन्, निर्माण सम्पन्न हुन बाँकी योजना केही दिनभित्र सक्छौँ ।” आगामी जेठमा आर्थिक वर्ष २०८१/८२ का योजना छनोट र बजेट निर्माणमा लाग्ने उनको भनाइ छ ।

Skip This
Logo