पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी

पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज,

नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन अन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ ।

बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालको ‘लाइफ लाइन’को रूपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम ६७.७ किलोमिटरसम्म सम्पन्न भइसकेको र अब करीब २.५ किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ ।

पाइपलाइन बिछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सो क्षेत्रमा छ हजार ५०० ठूलासाना रुख काटिने काम सम्पन्न भइसकेको छ भने रुखको जरा उखेल्ने काम धमाधम भइरहेको पेट्रोलियम पाइप लाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काटिएका रुखको जरा उखेल्न समस्या भए पनि सो काम तीव्रगतिमा भइरहेको छ ।”

पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मका लागि एक लाख ४७ हजार २०० रुख रोप्न एक करोड ३९ लाख ६७ हजार ५२ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोक कुमार रामले बताउनुभयो ।

Logo