बिनासकारी भूकम्पको ४ वर्ष पूरा, यस्तो छ नेपालमा भूकम्पको इतिहास

बिनासकारी भूकम्पको ४ वर्ष पूरा, यस्तो छ नेपालमा भूकम्पको इतिहास


(ज्ञानमणि नेपाल कालोटोपी)

आज वैशाख १२ गते । ०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको ४ वर्ष पुरा भएको छ । यस भूकम्पमा ९ हजार भन्दा बढी नागरिकको ज्यान गएको थियो । २४ हजार नागरिक घाइते र अपांग बने । ८ लाख भन्दा वढी घरहरु भत्किएका थिए । करिव ७ हजार स्कूल र २ हजार भन्दा वढी धार्मिक र ऐतिहासिक सम्पदाहरु ध्वस्त भए । देशका १७ जिल्लामा वढी मानविय र भौतिक क्षति भयो भने ३१ जिल्ला प्रभावित भए ।

विनासकारी भूकम्पको चार वर्ष पूरा हुँदा सम्म पूनर्निर्माण भने जम्मा ३२ प्रतिशत मात्र सकिएको छ । यद्यपी पूनर्निर्माण प्राधिकरणले भने ८० प्रतिशत संरचना निर्माण सकिएको दाबी गरेको छ । यस समय अवधिमा सानाठूला हजारौं परकम्प गए । चार रेक्टर स्केल भन्दा माथिका मात्र ५५० जति भूकम्प गएका छन् । अहिले पनि जाने क्रम रोकिएको छैन । हिजो मात्र धार्दिङको नौविसे केन्द्र बनाएर ३ पटक पराकम्प गएको छ । यो क्रम अझै दुई–तीन वर्ष सम्म लम्बिन सक्ने राष्ट्रिय भूकम्प मापन केन्द्र बताउँछ ।

उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.८ रेक्टर स्केलको भूकम्प यता बन्दै गरेका संरचना भने भूकम्प प्रतिरोधी बनिरहेका छन् । तर भूकम्प पछि भएका राजनितीक फोहोरी खेलहरुले भने हुनुपर्ने जति पुनर्निर्माण हुन सकिरहेको छैन । यो अवधिमा ५ वटा सरकार फेरिए । पुनर्निमार्ण प्राधिकरणमा ३ जना सिइओले ५ पटक भागवण्डा पाए । तर यसकै लागि छुट्टिएको वजेट समेत फ्रिज भयो भने त्रिपाल र राहत कुहिए । वास्तविक पीडितहरुले पाएनन् । गाउँ गाउँमा नक्कली पीडित बनेर महल ठड्याए , उनीहरुको अवस्था रातारात फेरियो तर पीडितहरुका टहरा भने फेरिएनन् । सरकार र केहि पहुँचवालाकै कारण पुनर्निमार्णले गति लिन नसकेको हो । यो फोहोरी राजनितीको अन्त्य नभएसम्म अबको १० वर्षमा पनि पुनर्निर्माण नसकिने प्रष्ट छ ।

जसको उदाहरणको लागि राजधानीको केन्द्रमा रहेको रानीपोखरीको हालत हेरे पुग्छ । जसको ०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सिलान्यास गरेकी थिइन । सिलान्यासको साँढे ३ वर्ष पूरा हुँदा पनि अहिले सम्म ५ प्रतिशत काम पनि सकिएको छैन ।

यस्तो छ भूकम्पको इतिहास

भूकम्पको इतिहास केलाउने हो भने ७ रेक्टर स्केलको भूकम्पलाई ठूलो भूकम्पको रुपमा हेरिन्छ । वि.सं. १८९० सालमा ठूलो भूकम्प गएको इतिहास छ । त्यतिबेला मापनकेन्द्र नभएपनि यो निकै शक्तिशाली भएको इतिहासमा उल्लेख छ । यसले बनेपा, साँगा र भक्तपुरतिर नराम्रो क्षति पारेका थियोे । त्यसको १०० वर्षपछि वि.सं. १९९० माघ २ गते संखुवासभाको चैनपुर केन्द्र भएर ८.४ रेक्टर स्केल मापन भएको भूकम्प गयो । त्यसका जिउँदा साक्षी अहिले पनि छन् । सानातिना भूकम्प त दैनिकजसो गइरहन्छन् ।

०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्र बनाएर ७.८ रेक्टरको भूकम्प गयो । रेकर्ड अनुसार ७ भन्दा माथिका भूकम्प ८० वर्षभन्दा कम वर्षमा गएका छैैनन् । तर ६ रेक्टर भन्दा माथीका भने आइरहेका छन् । वि.सं. २०४५ साल भदौ ५ गते गएको ६.४ रेक्टरको भूकम्पमा परि ७२१ जनाको मृत्यु भएको थियो । यसले पनि ठूलो भौतिक क्षति गरेको थियो । यस्तै २०६८ असोज १ मा गएको भूकम्पले पनि धेरै क्षति पुर्याएको थियो । यसैले ७०/८० वर्ष अगाडि ठूला भूकम्प फेरी नआउने अनुमान गर्न सकिएपनि प्राकृतिक विपति कतिबेला आउँछ यसै भन्न सकिंदैन । यस तर्फ सचेत हुनु जरुरी छ ।

Logo