असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान छ: प्रल्हाद दाहाल

असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान छ: प्रल्हाद दाहाल

केन्द्रबिन्दु
70
Shares

नेपालको जीवनशैली प्रकृति र माटोसँग निकट छ । कृषिप्रधान मुलुक भएकाले असार १५ गतेलाई दही चिउरा खाने दिनका रुपमा मनाइँदै आएको छ । २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसमा रुपमा पनि मनाइँदै आएको छ । धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने महिनाका रुपमा असारको भिन्नै महत्व रहेको पाइन्छ । तर असार १५ गतेलाई दही चिउरा खाने दिनका रुपमा बर्षौदेखि मनाइँदै आएको छ । यसै सन्दर्भमा दही चिउराको महत्व र धान दिवसका सवालमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग कुराकानी गरेको छौं –

असार १५ गतेका दिन दही च्यूरा खाने प्रचलन नेपालीहरुमाझ लोकप्रिय छ । तपाइँको विचारमा यही दिन दही च्यूरा किन खाइन्छ ?
असार महिना धान रोपाइँ गर्ने महिना हो । धान खेती गर्ने गाउँघरका मानिसहरु धेरै दिनसम्म हिलोमा काम गर्ने गर्छन । धान रोपाइँ गर्दा धेरै शारीरिक काम गर्नुपर्ने भएकाले ओझिलो खाजाका रुपमा दही च्यूरा खाने चलन पुरानै हो । असार १५ मा दही चिउरा खायो भने चिसो सबै हट्ने र रोगहरुबाट हट्छ भन्ने विश्वास छ । त्यस्तै असारलाई मानो रोपेर मुरी फलाउने भनेर पनि भन्ने गरिन्छ । त्यस्तै यस दिनलाई मनोरन्जनका रुपमा लिंदै सबैजना हिलो खेल्ने, खेतमा नाचगान गर्ने र दही चिउरा खाने गरिन्छ । रोपाइँ गर्दा बेठी लगाउने चलन छ । पछिल्लो क्रममा सहर बजारहरुमा यस दिनलाई विकसित रुपमा यसलाई एउटा पर्वको रुपमा मनाउन थालिएको हो । हरेक वर्ष असार १५ लाई धान दिवसको रुपमा पनि लिन्छौं । कहिल्यै दही चिउरा नखाने मान्छेले पनि खाएर यस दिनलाई पर्वका रुपमा मनाउने चलन छ ।

रोपाइँ गर्नेमध्ये सिजन भएकाले गाउँघरतिर असार १५ मा रोपाइँ सक्ने र खेतको आलिमा बसेर दही चिउरा खाने चलन छ । तर पछिल्लो समय यस चलनलाई सरहतिर फेसनको रुपमा देखिन थाल्यो नि ।
चाडपर्व मनाउने विषयलाई फेसनको रुपमा गयो भनेर भन्नुहुँदैन । सकारात्मक रुपमा लिनुपर्छ । किनकी अरु चाडपर्वको तुलनामा दही चिउरा खाने दिनलाई अहिले फेसनकै रुपमा लिने गरिएको छैन । जस्तै तीजको दर एक महिनादेखि खान्छौं । अरु कुनैपनि पर्व एक महिना वा १५ दिनभन्दा अगाडिदेखि मनाउने चलन बढ्दै गएको छ । तर दही चिउरा जुनदिन खाने हो त्यही दिनमा नै खान्छौं । पेसा पनि बाहिर हुनेहुँदा जो जहाँ छ त्यही जम्मा भए मनाउने चलन छ । त्यसैले यसलाई फेसनको रुपमा भन्नुपर्ने जस्तो लाग्दैन् । अरु पर्वको तुलनामा सभ्य छ । असार १५ हाम्रो मौलिक परम्परा हो । यसलाई निरन्तरता दियो भने हाम्रो भावी पुस्ताले पनि पच्याउन सक्छन् । यही कुरालाई माध्यम बनाएर विदेशी पर्यटकहरु भित्राउन सक्छौ । यसलाई उत्सवको रुपमा मनाएर पछिसम्म जोगाएर राख्नुपर्छ । मौलिकता नगुमाइकन हामीले अगाडि लान सक्यौ भने भावी पुस्तालाई यस्ता कुराहरु सिक्न सजिलो हुन्छ ।

डेरी एशोसियसनको तर्फबाट चाँही असार १५ लाई कसरी मनाउँदै हुनुन्छ ? दहीको माग कति छ ?
असार १४ गते पत्रकार सम्मेलन गरी सबैलाई दही चिउरा प्रर्वद्धन भन्ने नाराकासाथ दही चिउरा खानका लागि आह्वान गरेका छौं । त्यही अनुरुप १५ गते देशैभरी करिब ८० लाख लिटर दही खपत हुन्छ भन्ने आँकडा छ । यसको करिब रकमको हिसाब गर्दा स्पेसल दही दुई सय रुपैयाँ र सामान्य दही एकसय ५० रुपैंयाँ हुँदा औषतमा १ सय ७५ हुन्छ । एकसय ७५ ले हिसाब गर्दा १५ गते एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुन्छ । आर्थिक हिसाबले पनि यो पर्व महत्पूर्ण रुपमा छ । अहिले दुध खपत नभइरहेको अप्ठ्यारो परिस्थितिमा असार १५ ले थोरै भएपनि दुग्ध व्यवसायीहरुलाई राहत मिलेको छ । साथै जो जहाँ छौं त्यही बसेर भएपनि दही चिउरा खाएर परम्परा जोगाउने काम ग¥यौं भने यसले पछिल्लो हाम्रो भावी पुस्तालाई पनि संस्कृति चाल चलनको बारेमा जानकारी हुन्छ ।

विगतको वर्षमा कति दही खपत भएको थियो । यो वर्ष तुलनात्मक रुपमा घट्यो कि बढ्यो?
पहिलेको तुलनामा माग कम नै छ । किनकी पहिलेको तुलनाका लगभग पोहोर सालको भन्दा सत्रलाख जनसङ्ख्या घटेको छ । १७ लाखले नखाँदा त केही मात्रामा कम त भइनैहाल्यो । अर्को कुरा आर्थिक मन्दी, त्यही माथि दही दुधको मूल्य पनि पहिलाको भन्दा अलिकति महङ्गो भएको र विभिन्न कारणले पहिलाको तुलनामा अलि कम नै हो । गत सालको आँकडा झण्डै एक करोड लिटरको थियो भने अहिले ८० लाख लिटरको आँकडा गरेको छौं ।

यसपाली दुधको वक्यौता भुक्तानी हुन नसक्दा किसानहरु लगातार आन्दोलनमा छन् । किसानहरुले कृषि पेसा नै छाडेर अन्य पेसामा लाग्छन जस्तो लाग्छ ?
नेपालमा डेरी इतिहासको ७० वर्षमा पहिलो चोटी यस्तो अप्ठ्यारो परिस्थितिमा आएको छ । जती खपत हुनुपर्ने हो त्यति बजारमा खपत भएको छैन । किसानको दुध पोख्नुभन्दा त्यसलाई धुलो बनाएर राखौं भनेर राख्यौं । त्यसलाई राख्दा खपत भएन । चालु पुँजी अड्कियो । त्यस कारण किसानको भुक्तानी समयमा हुन सकेन । त्यसैले अहिले राज्यलाई के भनेका हौं भने हाम्रो स्टकलाई धितो राखेर ऋण उपलब्ध गराउनुप¥यो र किसानको पैसा तुरुन्तै भुक्तानी गर्न सक्छौं । मन्त्रालयमा छलफल चलिरहेको छ । चाँडै हाम्रो बैठकले एउटा निर्णय लिन्छ । किसानले यसरी भुक्तानी नपाउनुमा डेरी उद्योगीहरु अत्यन्तै दुखित छौं

दही बनाउनको लागि दुध चाँही कुन कुन जिल्लाबाट बढी आयात हुने गर्दछ ?
दुध त विभिन्न जिल्लाबाट आयात हुन्छ र आयात गरेको दुधबाट डेरी उद्योगहरुले दही बनाउने गर्दछन् । बिशेषगरी नेपालमा बढी दुध उत्पादन हुने जिल्ला काभ्रे, चितवन, नवलपरासी मकवानपुर, पूर्वमा झापा, इलाममा यीनिहरु नै जिल्लामा अलि बढि उत्पादन हुन्छ । तर काठमाडौंमा आउने भनेको चाँही बुटवलतिरबाट, तराई मधेश र नवलपरासीबाट आउँछ ।

एशोसियसनको तर्फबाट दुध उत्पादन गर्न प्रोत्साहनको लागि के कस्तो पहलकदमी लिनुभएको छ ?
हाम्रो काम भनेकै पैरवी गर्ने हो । केही कुराहरु अप्ठ्यारो आयो भने हामीलाई जानकारी भएको कुराहरु छलफल गरेर सम्बन्धित निकायमा पुर्याउने, किसानहरुको लागत कसरी घटाउनेलगायतका कुरामा नीतिगत अप्ठयारो भएको छ । यो विषय उठाइदियो भने किसानहरुलाई राहत हुने र हामीलाई पनि राम्रो हुन्छ । दुधको लागत घट्यो भने हामीले पनि सस्तोमा पाउने भयौं । र उपभोक्तालाई पनि सस्तोमा दिन सकिन्छ । यस्ता कुराहरुमा सरकारसँग किसानहरुका पक्षमा पैरवी गर्ने गरेका छौं । अहिले हामी ८० प्रतिशतले आत्मानिर्भर छौं । २० प्रतिशत चाँही अझैपनि आत्मानिर्भर हुन बाँकी छ । ६ लाख कृषकले प्रत्यक्ष रोजगारी पाउनुभएको छ । उद्योग क्षेत्रमा लगभग ५० हजारले रोजगार पाउनुभएको छ । नीजि क्षेत्रबाट ४५ अर्ब लगानी भएको छ । छुर्पि बनाएर तीन अर्ब निर्यात पनि गर्ने गर्दछौं । राज्यले थोरै मात्र हामीलाई सहयोग गर्याे भने धेरै कुरा गर्न सक्छौं । तर राज्यले केही गरेको छैन् । उपभोग कम भएपछि राज्यलाई लागत घटाउन उपभोग बढाउन भन्यौं । पनिर, घिउ, चिजमा लाग्ने १३ प्रतिशत भ्याट घटाए हुन्छ । हामीसँग स्टक सामान छ । किसानको पैसा तिर्न सकेको छैनौ । यी कुराहरुलाई सरकारले त्यत्ति धेरै चासो नदिएको अवस्था छ ।

असार १५ का लागि देशभित्र अत्याधिक दहीको माग हुन्छ । कुन कुन देशबाट ल्याउने गरेको छ, कि छैन् ?
नेपालमा अहिले विदेशी दूधजन्य पदार्थ पूर्णरुपमा ब्यान्ड गरिएको छ । गत वर्षहरुमा पनि आन्तरिक उत्पादनले नै पुराउने गरेका थियौं । दूधको कुरामा दूध बढी हुने बेलामा हामीले धुलो दूध बनाएर राख्छौ र बढी माग भएको बेलामा धुलो दूध प्रयोग गरेर दही बनाउने गर्छौं। असार १५ लाई भनेर लगभग असारको १ गतेदेखि नै त्यसलाई विस्तारै विस्तारै बढाउँदै लगेर लगभग एउटा डेरीमा पाँचसय लिटर दही सामान्य अवस्थामा विक्री हुनेगर्छ । तर असार १५ मा लगभग २५ सय लिटर जति दही विक्री हुन्छ । पाँच गुणा बढि व्यापार हुन्छ । कुल उत्पादनको ३१ लाख लिटरमा लगभग १५ लाख ५० हजार लिटर दहीमा खर्च हुन्छ । १५ लाख ५० हजार लिटर दूधमा खपत हुन्छ । पाँच गुणा हुँदा ८० लाख लिटर हुन्छ ।

आन्तरिक उत्पादनले पुग्छ भन्नुभयो तर बजारमा भारतीय दुधजन्य पदार्थ पनि आइरहेको छ भन्ने चर्चा छ । यसको वास्तविकता के हो ?
स्वदेशमा उत्पादन हुने दही, दूध स्वदेशमा नै खपत भइरहेको छ । दही र दूधमा परनिर्भर हुन परेको छैन् । यहीको उत्पादनले हामीलाई पुगेको छ । खपत अलि धेरै बढाउनुपर्ने अवस्था छ । दही मात्र होइन्, दूध, मइ, छुर्पि, मिठाइ सबै कुराहरु प्राथमिकता दिनुपर्ने अवस्था छ । हिजोआज हाम्रो परम्परा कोक–फेन्टा खाने मोइ नखाने, लस्सी नखाने, भोजतिर पनिर नराख्ने, मिठो खाने कुरामा दही नराखेर अरु नै राख्ने चलन छ । तीनै कुराहरु भोजहरुतिर राख्ने हो भने स्वदेशी उत्पादन खपत हुन्छ र बाहिरबाट ल्याउन पनि पर्दैन् । विदेशी उत्पादनभन्दा स्वदेशी उत्पादन खपत गर्ने कुरामा सबैजना लागौं र स्वदेशी उद्योग यहाँका किसान र उनीहरुले गरेको उत्पादनलाई बचाएर लामो समयसम्म व्यवसायलाई टिकाइ राख्नुपर्छ ।

बढी भएको दूध धुलो बनाएर राख्ने गरेका छौ भन्नुभयो । त्यो दूधमा मिसावट हुन्छ स्वास्थ्यको लागि राम्रो हुदैंन् भनिन्छ । प्रक्रिया कस्तो हुन्छ ?
त्यो खानयोग्य पाउडर हो । तरल दूधलाई नै ड्राइ गरेर पाउडर बनाउने हो । त्यसको मिति एक वर्षसम्म हुन्छ । त्यसकारण अखाद्य वस्तु होइन् । खाद्य पदार्थ हो । प्रयोग गर्न सकिन्छ । हामीले प्रयोग पनि गरिरहेका छौ । विश्वभर नै यस्तै गरिन्छ, यसलाई अन्यथा मान्नु पर्दैन् ।

धुलो दूध मात्रबाट दही बन्न सक्छ ?
धुलो दूध मात्रबाट दही बन्न सक्दैन । तर अरु दूधमा प्रतिशतको हिसाबले २०–२५ प्रतिशत मिसाउँदा खासै फरक पर्र्दैन् ।

Logo