यी हुन् नेपालको व्यापार घाटा उच्च हुने १० देश, कुनसँग कति छ ?

यी हुन् नेपालको व्यापार घाटा उच्च हुने १० देश, कुनसँग कति छ ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपालको व्यापार घाटा गत आर्थिक वर्ष २०८०/८१ को १२ महिनासम्ममा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । वैदेशिक व्यापार घाटा अथाह संघर्ष गरिरहेको नेपालले अघिल्लो वर्ष २०७९/८० को तुलनामा गत वर्ष ०.९६ प्रतिशतले घाटा घटाएको हो ।

भन्सार विभागका अनुसार असारसम्म १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँको आयात हुँदा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ वस्तु निर्यात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्रम १.१६ र ३.३० प्रतिशतले आयात तथा निर्यात घटेको विभागले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा उक्त रकमको बस्तु तथा सेवा आयात तथा निर्यात हुँदा ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख ६२ हजार रुपैयाँ बराबरको सरकारले राजश्व संकलन गरेको भन्सार विभागले जानकारी दिएको छ । नेपालको वैदेशिक व्यापार घाटामा महिनैपिछे उतारचढाव आएता पनि पछिल्लो केही महिना यता व्यापार घाटा सुधार हुँदै गएको विभागले बताएको छ ।

नेपालले अहिले १७० देशसँग वस्तु आयात तथा निर्यात गर्दै आएकाे छ । जसमध्ये ३६ वटा देशसँग व्यापार नाफामा छ भने बाँकी १३४ वटा देशसँग व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

विभागका अनुसार नेपालको सबै भन्दा बढी व्यापार घाटा भारत, चीन, इन्डोनेसिया, मलेसिया युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया बंगलादेशलगायतका मुलुकसँग छ । अहिलेका अवस्थामा नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेका विभागले बताएको छ । विभागका अनुसार १२ महिनामा भारतसँग नेपालको व्यापार घाटा ८ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ बढी रहेको छ । भरतबाट उक्त महिनासम्म ९ खर्ब ९६ अर्ब ६८ करोड २१ लाख ६१ हजारको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट भारतमा एक खर्ब ३ अर्ब १७ करोड ६९ लाख ८३ हजार रुपैयाँको वस्तु गएको छ ।

त्यस्तै, नेपालको व्यापार घाटा चीनसँग पनि उच्च हुँदै गएको छ । चालु आर्थिक वर्षको सुरुवाती १० महिनामा नेपालको चीनसँग व्यापार घाटा २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख ३० हजार रहेको विभागले बताएको छ । वैशाखसम्ममा चीनबाट नेपालमा २ खर्ब ९८ अर्ब ७७ करोड ४६ लाख ४४ हजार बराबरको वस्तु आयात भएको छ भने नेपालबाट चीनमा २ अर्ब ५८ करोड ८६ लाख १४ हजार रुपैयाँको वस्तु निर्यात भएको पनि विभागले जानकारी दिएको छ ।

यसैगरी इन्डोनेसियासँग पनि नेपालको व्यापार घाटा बढ्दै गएको देखिन्छ । पछिल्लो १० महिनामा नेपालको इन्डोनेसियासँग व्यापार घाटा १० अर्ब ३६ करोड ११ लाख ५८ हजार रुपैयाँ पुगेको छ । विभागका अनुसार नेपालबाट इन्डोनेसियामा २९ करोड ६० लाखको वस्तु निर्यात भएको छ भने उक्त देशबाट ९ अर्ब ९६ लाख ६८ करोड २१ लाख रुपैयाँको सामान आयात भएको छ ।

बहराइनसँग पनि नेपालको व्यापार घाटा क्रमशः बढ्दै गएको देखिन्छ । गत वर्षको १२ महिनामा बहराइनसँग नेपालको व्यापार घाटा ७३ करोड ९९ लाख २५ रुपैयाँ रहेको छ । यस देशबाट पनि सामान बढी निर्यात कम भएको देखिन्छ । नेपालले बहराइनमा २ करोड १० लाख १६ हजारको निर्यात र ७६ करोड ९ लाखको वस्तु आयात भएको विभागले बताएको छ ।

यस्तै, नेपालको अस्ट्रेलियासँग पनि व्यापार घाटा चुलिँदै गएको विभागको तथ्याङकले देखाएको छ । भन्सार विभागका अनुसार नेपालको अस्ट्रेलियासँग व्यापार घाटा १३ अर्ब ५७ करोड ८८ लाख ३ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा अष्ट्रेलियाबाट १५ अर्ब ३९ करोड ५२ लाख १७ हजारको वस्तु भित्रिएको छ भने नेपालबाट १ अर्ब ८२ करोड ४३ लाख ३४ हजार रुपैयाँको वस्तु अष्ट्रेलिया निर्यात भएको विभागले बताएको छ ।

मलेसियासँग नेपालको चालु आर्थिक वर्षको यो महिनासम्ममा १७ अर्ब ६७ करोड ५० लाख ७६ हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । मलेसियाबाट १७ अर्ब ९१ करोड ५५ लाख ५८ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट २४ करोड ४८ लाख २ हजार रुपैयाँको वस्तु मलेसिया पठाइएको छ ।

बंगलादेशसँग व्यापार घाटाले पनि रेकर्ड कायम गर्ने क्रम जारी छ । बंगलादेशसँग नेपालको व्यापार घाटा ३ अर्ब १६ करोड ८१ लाख १ हजार रुपैयाँ रहेको छ । बंगलादेशबाट नेपालमा ४ अर्ब २२ करोड ५६ लाख २ हजार रुपैयाँको वस्तु आयात र नेपालबाट बंगलादेशमा ५५ करोड ४६ लाख ६८ हजार रुपैयाँ सामान निर्यात भएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार व्यापार घाटा अर्जेन्टिनासँग यो महिनासम्ममा १३ अर्ब ३७ करोड ९९ लाख २ हजार पुगेको छ । अर्जेन्टिनाबाट नेपालमा १८ लाख ३ हजारको सामान निर्यात गरेको छ भने १२ अर्ब ३८ करोड १७ लाख ५ हजार रुपैयाँको वस्तु भित्रिएको पनि विभागले बताएको छ । यसैगरी युक्रेनसँग पनि नेपालको व्यापार घाटा १८ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ पुगेको छ । नेपालले युक्रेनबाट १८ अर्ब ८८ करोड ५९ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको र नेपालले भने मात्र ५ लाख ८३ हजार रुपैयाँको वस्तु युक्रेनमा निर्यात गरेको पनि विभागको तथ्याङ्कमा उल्लेख छ । विभागको तथ्यांकले ब्रुनाई दारुसलामसँग ३ अर्ब ४६ करोड ५४ लाख २४ हजार रुपैयाँ रहेको देखाएको छ ।

यसैगरी ब्राजिलसँग पनि नेपालको व्यापार घाटा चुलिँदै गएको छ । विभागले सार्वजनिक गरेको गत वर्षका तथ्यांकअनुसार ३ अर्ब ८३ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको घाटा बेहोरेको छ । नेपालले १० करोड ५५ लाख ९४ हजार रुपैयाँको वस्तु निर्यात गर्दा ३ अर्ब ९३ करोड ९९ लाख ९६ हजार रुपैयाँको वस्तु आयात गरेको विभागले जानकारी दिएको छ ।

Logo