कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आन्तरिक र बाह्य पर्यटकहरुलाई निकुञ्जभित्र घुमाउन शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ । भीमदत्त नगरपालिकाको संयोजनमा सबै कञ्चनपुरका सबै स्थानीय तह र सरोकारावालाको सहकार्यमा चैत १५ देखि २१ गतेसम्म महोत्सव हुन लागेको हो ।
महोत्सव अवधिभरि दैनिक तीन सयदेखि पाँच सय पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र घुमाउने लक्ष्य राखिएको छ । त्यसका लागि दैनिक १० देखि १५ सवारी साधन प्रयोग गरिनेछ ।
महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।
‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य हो, नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी यो महोत्सव आयोजना हुन लागेको छ’ महोत्सव सम्बन्धि जाकारी गराउन मंगलबार भीमदत्त नगरपालिका कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख विष्टले भने, ‘यो महोत्सव सबैको सहकार्य, समन्वय र सहयोगमा हुन लागेको छ, सबै आयोजक छौ, सबैको लक्ष्य शुक्लाफाँटामा पर्यटन प्रवद्र्धन गर्ने भन्ने हो ।’
शुक्लाफाँटा घुम्न जाऔ भन्ने नारासहित महोत्सव अवधिभरि आन्तरिक र बाह्य पर्यटकलाई उत्प्रेरित गरिने नगर प्रमुख विष्टले बताए । ‘यो महोत्सवमा अरु महोत्सव झै स्टल केही हुने छैन, चैत १५ गते औपचारिक उद्घाटन गरी शुक्लाफाँटा घुम्न जाऔ भन्ने नारासहित पर्यटकलाई उत्प्रेरित गरिनेछ’ उनले भने, ‘त्यसैले यो अवधिमा बढी भन्दा बढी पर्यटकलाई निकुञ्जमा घुमाउन सबै लाग्ने छौ ।’
नगर प्रमुख विष्टले महोत्सव अवधिभरि दैनिक तीन सयदेखि पाँच सय घुमाउँदा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुम्ने भएकाले महोत्सव ऐतिहासिक हुने बताए । भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार निर्माणको वर्ष घोषणा गरेको उल्लेख गर्दै नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटन हब बनाउन विशेष प्राथमिकता दिएको बताए ।
शुक्लाफाँटा पर्यटन प्रवद्र्धनका लागि गत वर्ष नगर कार्यकालिकाको बैठक शुक्लाफाँटामा गरिएको थियो । पत्रकार सम्मेलनमा नाटाका सुदूरपश्चिम प्रदेश संयोजक माया प्रकाश भट्टले शुक्लाफाँटाको पर्यटन प्रवद्र्धनबाट निकुञ्जको प्रचार हुने, आन्तरिक तथा बाह्य पर्यटक आउने, स्थानीयको आर्थिक अवस्था सुधार आउने र शुक्लाफाँटालाई पर्यटकीय गन्तव्य बनाउन सहयोग पुग्ने बताए ।
नाटाको अगुवाईमा यस अघि पहिलो पटक शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो । महोत्सव औपचारिक कार्यक्रम गरी उद्घाटन गरिनेछ । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, उद्यमी व्यवसायी, पर्यटन व्यवसायी लगायतका विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराईनेछ ।
महोत्सवमा सहभागीहरुलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका तस्बिर सहित विभिन्न जानकारी मुलक पर्चाहरु वितरण गरिनेछ । ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिंगाको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ । निकुञ्जमा जम्मा २ हजार ३ सय ४० बाह्रसिंगा छन् ।





























प्रतिक्रिया