काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको महत्व राम्रोसँग बुझेको बताएका छन् ।
शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन खम्बे अर्थतन्त्रमा निजी क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतिहरु समाधान गर्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘वर्तमान सरकारले निजी क्षेत्रको महत्व बुझेको छ, म दोहोर्याएर भन्न चाहन्छु नीजि क्षेत्रको महत्व अहिलेको सरकारले बुझेको छ, हामिले भन्ने गरेका छौं तीन खम्बे अर्थतन्त्र सरकारी क्षेत्र, सहकारी क्षेत्र र निजी क्षेत्र, निजी क्षेत्रको भूमिकालाई कमजोर बनाएर, निजी क्षेत्रको भूमिकालाई न्युनिकरण गरेर, निजी क्षेत्रमा संकुचनको अवस्था सिर्जना गरेर हामीले अर्थतन्त्रका आजका चुनौतिहरुको सामना गर्न सक्दैनौं, देशको अर्थतन्त्रलाई दिगो बनाएर अगाडि लग्न सक्दैनौं ।’
साथै, उनले गरेको कामको भुक्तानी सरकारले नरोक्ने भन्दै निजी क्षेत्रका व्यवसायी सबैले भुक्तानी पाउने बताएका छन् ।
उनले भने, ‘निजी क्षेत्रका निर्माण व्यवसायीहरुले भन्नु हुन्छ भुक्तानी पाउनुपर्छ भनेर तर सरकारले गरेको कामको भुक्तानी दिन्छौं हामी भनेर भनिरहेको छ । जब हामी काममा लगाउँछौं रितपूर्वक कानून सम्वद्ध ढंगले काम गरेको भुक्तानी सबैले पाउनुपर्छ, सम्बन्धित मन्त्रालयमा जानुस्, सम्बन्धित निकायमा जानुस् तपाईंले सम्पन्न गरेको कामको भुक्तानी पाउनु हुन्छ भन्यो सरकारले र क्रमशः भुक्तानी भैइरहेको पनि छ ।’
यस्तै, उनले बाँकी रहेको भुक्तानीको लागि रितपूर्वक दाबी गर्न आग्रह गरे । उनले जुनसुकै परिस्थितिमा पनि सरकारले भुक्तानी नरोक्ने आश्वासन पनि व्यक्त गरे ।
प्रतिक्रिया