काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नयाँ नेतृत्वले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
धादिङ्ग उद्योग वाणिज्य संघको २७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नयाँ नेतृत्व युवा र केही गरौं भन्ने हुटहुटीसहितको भएको बताएका हुन् ।
“नयाँ नेतृत्व आइसकेपछि नेतृत्वको पूर्णताका लागि अहिले विभिन्न विषयगत समितिहरु बन्ने क्रममा छन् । समितिहरुले पूर्णता पाएसँगै तपाईं हामीले महशुस गर्ने गरी काम हुनेछन्,’ ढकालले भने ।
जिल्ला नगरका समस्याहरु लगभग एकै प्रकारका हुने बताउँदै उनले ती समस्याको समाधानमा महासंघको नेतृत्व जिम्मेवार भएर लाग्ने बताए ।
देशभित्रै रोजगारी सृजना गर्न र बढीभन्दा बढी राजश्व संकलनका लागि तीनतहको सरकारको तर्फबाट व्यवसाय र व्यवसायीलाई सहजीकरण गर्नुपर्ने उनको दावी छ । उनले रोजगारी र राजश्वको पहिलो लाभग्राही स्थानीयतहहरु भएकोले स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन विशेष पहल गर्नुपर्ने बताए ।
“मुलुकभित्र रोजगारी सृजना गरेपछि राजश्व उठाउन सहयोग त हुन्छ नै यसबाट जुनसुकै असल व्यवसायलाई सबै तहका सरकारहरुले सहजीकरण गर्नुपर्छ”, उनी थप्छन्, “यसको प्रत्यक्ष र पहिलो लाभग्राहीको हिसाबले पनि स्थानीय सरकारहरुको भूमिका अहम् हुने गर्छ ।”
ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले महासंघको तर्फबाट मात्र नभई एउटा बैंकको अध्यक्षको हैसियतमा पनि आफूले स्थानीय कृषकहरुलाई बिना धितो कर्जा प्रवाह गर्न आफू तयार रहेको बताए ।
उनले धादिङ्ग जिल्लाको तरकारी उत्पादनलाई भण्डारण गर्नका लागि कोण्डस्टोर बनाउन स्थानीय सरकार तथा व्यवसायीहरुले ५० प्रतिशत रकम जुटाएर आएमा महासंघको तर्फबाट बाँकी रकम जुटाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।





























प्रतिक्रिया