काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काम गर्न नसकेको स्वीकार गरेका छन् । चुनावका बेला ठूला र राम्रा सपना देखाएका शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा आफूले अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गरेका हुन् ।
साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । बुधबार साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले हस्ताक्षर गरेसँगै पार्टी एकताको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ । एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे रहनेछन् ।
बासमती चामल आफ्नो देशमा मात्रै उत्पादन हुने भन्दै अन्तर्राष्ट्रिय बजारमा एकाधिकार जमाउने भारतको प्रयासविरुद्ध नेपालले दाबी विरोध गर्ने भएको छ । भारतले आफ्नो देशको केही स्थानहरूमा मात्रै बासमती चामलको उत्पादन हुने भन्दै युरोपियत युनियन (ईयू)मा भौगोलिक संकेत दर्ताको लागि आवेदन दिएको थियो । उक्त आवेदनमाथि बासमती चामल नेपालमा पनि उत्पादन हुन्छ भन्दै सरकारले दाबी विरोध गर्न लागेको हो ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकासको गति कमजोर भएको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले नवप्रवर्तन उद्योगहरुलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको तथा आयातित वस्तुहरुलाई विस्थापित गर्ने तर्फ अर्थतन्त्रलाई उन्मुख बनाउन नसक्दा समस्या उत्पन्न भएको बरिष्ठ नेता नेपालको भनाई छ ।
अमेरिकाका लागि नवनिर्वाचित राष्ट्रपति बाइडेन आफ्नो कार्यकालका लागि स्वास्थ्यमन्त्री र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रमुख नियुक्त गरेका छन् । यो सँगै बाइडेनले विश्व महामारीको रुपमा रहेको कोभिड १९ विरुद्ध आफ्नो कार्यकालको १ सय दिनमा १० करोड नागरिकलाई खोप लगाउने योजना पनि अघि सारेका छन् ।































प्रतिक्रिया