सिजनको शुरुवातमै निर्माण सामग्रीको मूल्य उच्चरुपमा वृद्धि, सिमेण्टमा भने मूल्य घट्दै

सिजनको शुरुवातमै निर्माण सामग्रीको मूल्य उच्चरुपमा वृद्धि, सिमेण्टमा भने मूल्य घट्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यस वर्षको पूर्वाधार निर्माणको सिजन शुरु भएको छ । यतिबेला गाँउघरदेखि शहर बजारमा निर्माण सामग्री व्यवसायको निकै ठूलो चहलपहल देखिन थालेको छ । ग्रामिण क्षेत्रदेखि शहरका सडकहरुमा समेत निर्माण सामग्री ओसारपसार गर्ने सवारी साधनहरुको चाप बढेको देखिन्छ ।

तर, पूर्वाधार निर्माणको सिजन शुरु भएसँगै बजारमा निर्माण सामग्रीको मूल्य भने अत्यधिक रुपमा बढेको छ । निर्माण सामग्रीको मूल्यवृद्धिको प्रत्यक्ष असर आम उपभोक्तामा पर्न थालेको छ । आम उपभोक्ताले कोरोना महामारी सहज होला र निर्माण सामग्रीको मूल्य पनि घट्ला भन्ने आशा गरेका थिए ।

यतिबेला कोरोना भाइरसको महामारीले शिथिल बनेको निर्माण व्यवसायमा पनि चहलपहल वढेको छ । महामारीका कारण अधिकांश पूर्वाधार निर्माणका कामहरु जस्तै, घर निर्माणदेखि अन्य ठूला साना आयोजना रोकिएका थिए । कोरोनाले गर्दा रोकिएका घर तथा आयोजनाहरु निर्माणका काम शुरु भएका छन् । यसरी निर्माण व्यावसाय शुरु भएसँगै पूर्वाधार निर्माणका लागि अतिआवश्यक सामग्री गिट्टी, बालुवा, फलामे छड र डण्डीको अत्यधिक मूल्य वढेको छ । यद्यपि सिमेण्टको मूल्य भने घट्दै गएको छ ।

पूर्वाधार निर्माणका लागि मंसिरदेखि जेठसम्मलाई ‘पूर्वाधार निर्माणको पिक’ सिजन मानिन्छ । निर्माणको सिजनको शुरु भए लगतै अत्यावश्यक निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीहरू तथा उपभोक्ताहरु चिन्तित बन्न थालेका छन् ।

पछिल्लो पटक सरकारले देशैभरि अवैध रुपमा उत्खनन् भएका गिट्टी, बालुवा रोक लगाउने निर्णय गरेकाले बजारमा गिट्टी, बालुवाको अभाव हुँदै गएकाले बजारमा निर्माण सामग्रीको मूल्य बढ्न थालेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले बताएका छन् ।

उनका अनुसार बजारमा यस्ता सामग्री पाए पनि पहिलेको भन्दा मूल्यवृद्धि भएको छ । एक महिना अगाडि एक टिपरको २०/२२ हजार पर्ने गिट्टी, वालुवा अहिले ३० हजारसम्म पर्ने गरेको छ । खपत बढी हुने सिजनमा नै गिट्टी, बालुवा अभाव शुरू हुन थालेको तथा बजारमा माग अनुसार आपूर्ति नहुँदा मूल्य पनि वृद्धि भएको उनको भनाइ छ ।

यता निर्माण व्यवसायी महासंघले प्रेस विज्ञप्ति जारी गरि सरकारको निर्णयपछि डन्डीको मूल्य प्रतिकेजी १५ देखि २० सम्म वृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर वृद्धि भएको उल्लेख गरेको छ । त्यस्तै, फलामे छडको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढिरहेकाले नेपालमा पनि यसको मूल्य बढेको छ ।

किन घट्दै छ सिमेण्टको मूल्य ?

पूर्वाधार निर्माणको सिजन शुरु भएसँगै निर्माण सामग्री गिट्टी, बालुवा, फलामे छड र डण्डीको मूल्य बढेको छ तर सिमेण्टको मूल्य भने घट्दै गएको छ । यसरी अन्य सामग्रीको मूल्य विगतका वर्षहरुमा पनि निर्माणको सिजनमा बढ्दै आएको थियो । सिमेण्टको मूल्य पनि विगतका वर्षमा वढ्दै आएको छ । यसरी विगतका वर्षहरुलाई आधार मान्ने हो भने यो वर्ष पनि सिजनमा सिमेण्टको मूल्य वढ्नु पर्ने हो । तर, अन्य निर्माण सामग्रीको मूल्य वढे पनि सिमेण्टको मूल्य लगातार घटिरहेको छ ।

करिव एक महिना अगाडिको तुलनामा मंसिर लागेदेखि सिमेण्ट बोरामा ४० रुपैयाँभन्दा वढीले मूल्य घटेको सिमेण्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । उनका अनुसार कोरोनाले अधिकांश परियोजना अन्यौल र बजारमा निर्माण कार्य कम भएसँगै सिमेण्टको खपत कम हुँदै गएकाले बजारमा मूल्य पनि घट्दै गएको हो ।

यतिबेला सिमेण्टको बजारमा मागको तुलनामा उत्पादन धेरै भएकाले सिमेण्ट उद्योगबीच मूल्य घटाएरै भएपनि उत्पादन भएको धेरै विक्री गर्ने तीव्र प्रतिस्पर्धा भइरहेकाले मूल्य घट्दै गएको थापाको भनाइ छ ।

बजारमा गत वर्ष सिमेण्टको मूल्य बढेर एक बोराको ९०० रुपैंयाँसम्म पुगेको थियो । तर यो वर्ष सिमेण्टको मूल्य घटेर ५१५ देखि ७०० रुपैयाँसम्म विक्री वितरण भइरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि सिमेण्टको मूल्य प्रतिबोरा १०० रुपैयाँले घटेको थियो । यसरी एक वर्षको बिचमा सिमेण्टको मूल्य प्रतिबोरा २०० रुपैयाँले घटेको छ ।

एउटा घर बनाउन कति खपत हुन्छ सिमेण्ट ?

कुनै पनि सानो ठूलो घर बनाउनका लागि गिट्टी, बालुवा, फलामे छड र डण्डीको आवश्यक पर्ने गर्दछ । यसैले बजारमा निर्माणको सिजनमा यी सामग्रीको खपत वढ्ने गर्दछ । निर्माणको समयमा नै सामग्रीको मूल्य वढ्ने गरेकाले उपभोक्ता र व्यवसायीहरुलाई मर्का पर्ने गरेको छ । यसरी इन्जिनियरहरुका अनुसार एउटा घर बनाउनका लागि लाग्ने कूल लागतको ७ देखि ८ प्रतिशत हिस्सामा सिमेण्ट र ९ देखि १० प्रतिशत छड लाग्ने गर्दछ ।

सिमेण्ट उत्पादन ४० प्रतिशत मात्रै

कोरोना महामारीका कारण पछिल्लो समय बजारमा सिमेण्टको माग ह्वातै घट्दै गएकाले सिमेण्ट उद्योगहरूले आफ्नो क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको उद्योगीहरुले बताएका छन् । अहिले नेपालमा सिमेण्टको माग वार्षिक करिव एक करोड टन रहेको छ । तर नेपाल सिमेण्ट उद्योगमा आत्मनिर्भर बन्दै गएकाले सिमेण्ट उद्योगहरूको कुल उत्पादन क्षमता नै वार्षिक डेढ करोड टन पुगेको छ ।

बजार अनुगमन गर्न महासंघको माग

नेपाल निर्माण व्यवसायी महासंघले मंसिर लागेसँगै बजारमा निर्माण सामग्रीको अभाव भइ महंगी बढेको भन्दै सम्बन्धित निकायलाई बजार अनुगमन गर्न माग गरेको छ । महासंघका अध्यक्ष रवी सिंहले कोरोना महामारीका कारण हजारौं आयोजनाहरुको काम अलपत्र परेर बसेका तथा निर्माण क्षेत्रमा समस्या उत्पन्न भएकाले बजारमा निर्माण सामग्रीको मूल्यवृद्धिले थप समस्या ल्याएको भन्दै बजार अनुगमन गर्न माग गरेका छन् । त्यस्तै सिंहले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद एक वर्ष थप गर्न समेत माग गरेका छन् ।

महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा गत सोमबार आयोजना गरेको कार्यक्रममा कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित भएकाले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनु पर्ने उनले बताएका छन् ।

यस्तै, २ हजार ७ सय ७० वटा रुग्ण आयोजनाहरुको म्याद गत फागुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएकोमा ती आयोजनाहरु पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनु पर्ने माग गरेका छन् । कोभिडका कारण विदेशबाट आउनु पर्ने कन्सल्ट्यान्ट आउन नसकेको र निर्माण सामग्री आयातमा अझै पनि प्रभाव परिरहेकाले त्यसलाई खुलाउन समेत माग गरेका छन् ।

Logo