फोनलोनको सहकार्यमा हाम्रो बजारले सुरु गर्‍यो ‘बाइ नाउ, पे लेटर’ फिचर

फोनलोनको सहकार्यमा हाम्रो बजारले सुरु गर्‍यो ‘बाइ नाउ, पे लेटर’ फिचर

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ ।

फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ । अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका ग्राहकहरूले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन् ।

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरूले किस्ताबन्दीको सुविधा आ–आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन् ।

हाम्रो बीएनपीएलमार्फत ग्राहकहरूले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड ईएमआई लिने प्रयोगकर्ताहरूले भने डाउन पेमेन्ट विना नै सुविधा उपभोग गर्न सक्छन् । हाम्रो बजारको हाम्रो बीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरूले छनोट गर्न सक्छन् । किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने कम्पनीले विश्वास लिएको छ ।

आफूलाई आवश्यक परेको वा मन परेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन्। ‘हाम्रो बीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन । यो नेपाली उपभोक्ताहरूका लागि इ–कमर्समा गेमचेन्जर फिचर हो । हाम्रो बजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरूलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनावविना सामान खरिद गर्ने वातावरण सिर्जना गर्न खोजेका हौँ । यसले हाम्रा ग्राहकहरूलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ ।’ फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने ।

फोन लोन नेपालको सबैभन्दा ठूलो डिजिटल कर्जा दिने माध्याम हो । यसले योग्य प्रयोगकर्ताहरूलाई तत्काल, धितोविनै ऋण उपलब्ध गराउँछ। जसका लागि विभिन्न बैंकहरूसँग सहकार्य गरिरहेको छ । हाम्रो बजार नेपालको सबैभन्दा ठूलो मार्केटप्लेस हो। हाम्रो बजारमा विविध रेन्जका प्रडक्ट उपलब्ध छन्।

Logo