एमालेको ‘सामाजिक सेवा केन्द्र’ मार्फत बाढीपहिरो पीडितका लागि १ करोडको राहत वितरण गरिँदै

एमालेको ‘सामाजिक सेवा केन्द्र’ मार्फत बाढीपहिरो पीडितका लागि १ करोडको राहत वितरण गरिँदै

केन्द्रबिन्दु
630
Shares

काठमाडौँ । नेकपा एमालेले स्थापना गरेको ‘सामाजिक सेवा केन्द्र’ले बाढीपहिरोबाट प्रभावितहरूलाई उद्धार तथा राहतमा सहयोग गरिरहेको छ । केन्द्रले अविरल वर्षाका कारण प्रभावितहरूलाई सहयोग र राहत प्रदान गरिरहेको हो ।

काठमाडौँ उपत्यका तथा देशभर भएको धनजनको क्षतिपछि सामाजिक सेवा केन्द्रले राहतको काम गरिरहेको एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख तथा सामाजिक सेवा केन्द्रका संयोजक मोतिलाल दुगडले बताएका छन् ।

उनले भने,‘ देशभरको क्षति भइरहेको तथ्याङका आधारमा खटिरहेका छौँ । तत्काल उद्धार गर्नुपर्नेहरूलाई उद्धार गरिरहेका छौँ । साथै आवश्यक राहत चाहिनेका लागि त्यसको समेत बन्दोबस्त गरिरहेका छौँ ।’

पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको निर्देशनमा यो काम भइरहेको संयोजक दुगडले बताए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली विदेश भए पनि टेलिफोन सम्पर्कमा जतिसक्दो छिटो र प्रभावकारी ढंगबाट काम गर्न निर्देशन प्रदान गरेका छन् । उनको निर्देशनबमोजिम काम भइरहेको संयोजक दुगडले जानकारी दिए ।

एमालेको सामाजिक सेवा केन्दबाट अहिलेको विपद्मा १ करोड रुपैयाँ बराबरको राहत वितरणको काम भइरहेको छ । यस सेवा केन्द्रले अन्य विपद्मा समेत काम गर्दै आइरहेको छ ।

२०७८ सालमा कोभिड १९ ले जनजीवन प्रभावित भइरहेको अवस्थामा नेकपा एमालेले परोपकार कार्य गर्न भन्दै नयाँ संरचनामा ‘सामाजिक सेवा केन्द्र’ गठन गरेको थियो । एमालेले समाजिक तथा मानव सेवाका लागि संस्था स्थापना गरेको हो । प्राकृतिक प्रकोपका साथै सामाजिक समस्यामा समेत सहयोग प्रदान गर्दै आइरहेको यो नयाँ अभियानलाई एमालेले निरन्तरतालाई जारी राखेको छ ।

Logo