काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले बाढी पहिरो पीडितलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको गर्ने निर्णय गरेको छ । भाटभटेनी अध्यक्ष मीनबहादुर गुरुङले पीडितका उक्त रकम सहयोग गर्ने भएका हुन् ।
पीडितका लागि भाटभटेनीले छुट्याएको उक्त रकम प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् प्रदान गर्ने बताइएको छ । अविरल वर्षा कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था आएपछि सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको अध्यक्ष गुरुङले बताएका हुन् ।
भाटभटेनीले देशमा आपत्त विपत्त पर्दा ठूलो रकम सहयोग गर्दै आएको छ । अघिल्लो वर्ष जाजरकोटमा भूकम्प गएपछि गुरुङले उनीहरूको उद्धार र राहतका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए ।
गुरुङले त्यसबाहेक पनि ८० लाख रुपैयाँ बराबर खाद्यान्न उक्त क्षेत्र पठाएका थिए । नागरिक सहित धनजनको क्षति भई देश अफ्ठयारो अवस्थामा पुग्दा भाटभटेनीका सञ्चालक गुरुङ ठूलो रकम सहयोग गर्दै आएका छन् ।
यस्तै, डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पताल निर्माणका लागि पनि गुरुङले यसअघि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए । जुन अस्पताल हाल निर्माणाधीन चरणमा छ ।
गुरुङले कोभिडको समयमा पनि संघीय सरकारसहित सातै प्रदेशमा सहयोग हस्तान्तरण गरेका थिए भने २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।
गुरुङले हालसम्म रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस निःशुल्क अध्ययन गराएका छन् । यस्तै, गुरुङले देश समस्यामा पर्दा सबैले मिलेर सहयोग गर्नुपर्ने तथा आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताउँदै आएका छन् ।





























प्रतिक्रिया