नेकपा विवाद : प्रतिवेदन पढ्न दिएर सहमतिको खोजी !

नेकपा विवाद : प्रतिवेदन पढ्न दिएर सहमतिको खोजी !


काठमाडौं ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेसँगै सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेस भएको छ ।

दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी समिति सदस्यलाई सात दिनको समय दिएर शीर्ष तहमा भने सहमतिको खोजी शुरु भएको छ ।

दोस्रो तहका नेताहरु पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष ओली–प्रचण्डबीचमा संवाद गराउने गृहकार्यमा जुटेका छन् । प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएर यसबीचमा सहमतिको प्रयास अगाडि बढेको छ ।

स्थायी समिति बैठकमा अध्यक्ष ओली सहभागी नभए पनि पत्रमार्फत बैठकलाई सम्बोधन गरेसँगै बैठकले वैधानिकता पाइसकेको छ । यही मंसिर २८ गतेबाट स्थायी समिति बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम शुरु हुनेछ ।

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल पार्टीभित्र देखापरेको समस्या समाधान हुने बताउनुहुन्छ । स्थायी समितिको बैठकमा बहुमत सदस्यहरुको भनाइलाई आधार बनाएर निष्कर्ष निकालिने बताउँदै उहाँले विवाद समाधानका लागि बैठकले निर्णायक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सोमबार मात्र देवेन्द्र पौडेलसहितका नेताहरुले शीर्ष नेताहरुसँग भेटवार्ता गरेर जारी विवादको निकास निकाल्न भूमिका खेल्न आग्रह गरेका छन् ।

स्थायी समिति बैठकलाई सम्बोधन गर्दै लेखेको पत्रमा अध्यक्ष ओलीले गत भदौ २६ गते स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन गरेर जान आफू तयार रहेको दोहोर्याउनुभएको छ ।

तर उक्त निर्णय कार्यान्वयन नभएकै कारण पार्टीभित्र समस्या एकपछि अर्को गर्दै थपिँदै गएको स्थायी समितिका सदस्यहरुलाई प्रचण्डले जानकारी गराउनु भएको छ ।नेपाल समाचारपत्रबाट

Logo