बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिबद्धता गरेका छन् ।
उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरू क्रमशः कार्यान्वयन गरिरहेको भन्दै रोजगारी सिर्जना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्ने बताए ।
जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रमहरूमा सहभागी भएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरूलाई उजागर गरी त्यसको व्यवस्थापनमा लागिरहेको बताए ।
जिल्लास्थित विभिन्न खानी, खनिज, जडीबुटि प्रसोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रित गरेको पनि उनको भनाइ छ । उनले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थित गरी बैतडीको सिलेट राजधानी पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवाला मिलेर यसलाई सहज बनाउनुपर्ने बताए ।
मन्त्री भण्डारीले आफ्नो आँखा अगाडिको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वयंको कमजोरी हुने बताए । उनले भने, ‘हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ । तर सिँचाइको अभावमा खेत बाँझो राखेका छौँ । ठाउँठाउँमा सडक पुगे पनि व्यवस्थित नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्किल छ । सडक सुविधा भएका ठाउँमा समेत कृषि उपजहरू उत्पादन गरी बिक्री गर्ने परिपाटी छैन, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैँले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिँचाइ, विद्युत्, खानेपानी लगायतका पूर्वाधारहरू निर्माण गर्न सरकार लागिपरेको छ ।’
मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रसोधन स्थानीय स्तरमै गर्नुपर्ने र त्यसको पूर्वाधार खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसका साथै जडिबुटी संकलन, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गर्ने र लघु उद्यम मार्फत रोजगारी सिर्जना गर्ने बताए ।
स्थानीय स्तरमा उपलब्ध स्रोत साधनलाई उपयोग गरी रोजगारी सिर्जना गर्नमा आफूले ध्यान केन्द्रित गरेको मन्त्री भण्डारीको भनाइ छ । मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई एमाले नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक संकुचन हटाउने प्रतिबद्धता व्यक्त गरे ।
बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहेका मन्त्री भण्डारीले बैतडीलाई सिरमा राखेर काम गर्ने बताए ।































प्रतिक्रिया