उद्योग र श्रमिकहरुबीच समन्वयको आवश्यकता

उद्योग र श्रमिकहरुबीच समन्वयको आवश्यकता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।

कोभिड १९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा परेको असर सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै सरोकारलाहरुले विपदको अवस्थामा श्रमिक र रोजगारदाताबीच समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष रामचन्द्र संघाईले रोजगारी गुमाएकालाई पुनः रोजगारीमा फर्काउन चुनौती भएको बताए। पर्यटन, रेस्टुरेन्ट, साना तथा मझौला उद्योगलाई पुरानै अवस्थामा फर्काउन अझै २÷३ वर्ष लाग्ने भएकाले रोजगारी फर्काउन समेत चुनौती देखा परेको बताएका हुन् ।

ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र यादवले श्रमिक र उद्योगबीचको सम्बन्ध सुधार्नु पर्ने अवस्था आएको बताए। कोभिडका कारण उद्योग र श्रमिक दुवैलाई समस्या परेको अवस्थामा मिलेर समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि यादवले बताए।

अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष धनबहादुर बिकले देशको लागि उद्योग कलकारखाना चाहिएको हो भने श्रमिकका समस्या सबैभन्दा पहिला समाधान हुनु पर्ने बताए । अहिले पनि उद्योग लगानीकर्ताको मात्रै हो भन्ने सोच राख्ने हो भने समस्या उत्पन्न हुने बताए ।

कोरोनाका कारण उद्योग व्यवसाय पुरानै लयमा सूचारु हुन नसक्दा करिब १५ लाख रोजगारी गुमेको अनुमान गरिएको छ । यस्तै वैदेशिक रोजगारीबाट डेढ लाख बढी युवाहरु स्वदेश फर्किएका छन् । त्यसैले पनि रोजगारी संकट समाधान गर्नका लागि श्रमिक, उद्योग र सरकारबीच समन्वय हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।

Logo