आयल निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति

आयल निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति भएको छ । निगममा केन्द्रीय कार्यालयमा आज भएको छलफलमा दुई पक्षबीच कमिशन वृद्धि गर्ने सहमति भएको हो ।

निगम सञ्चालक समितिको निर्णय अनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजेलको कमिशन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरी पेट्रोलमा ३.३९५५ र डिजलमा ३.१२५ पुर्याउने निर्णय गरेको थियो । दुई पक्षबीच निगम सञ्चालक समितिको निर्णय अनुसार कमिशन लागू गर्ने सहमति गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

कमिशन वृद्धि गर्दा हुने मूल्य समायोजन अनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर औसत ३६ पैसाले थप हुनेछ । पेट्रोल र डिजेलमा दिइआएको क्रमशः १० लिटर प्रति चार किलोलिटर र तीन लिटर प्रति चार किलोलिटर जर्ती हाललाई स्थगन गरिएको निगमले जनाएको छ ।

साथै निगमले विक्रेताको प्राविधिक नोक्सानीको विस्तृत अध्ययन गर्न काठमाडाैं विश्वविद्यालयको प्राविधिक विज्ञतालाई अनुरोध गरेको र सो कार्यलाई अघि बढाउन नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं निगम सञ्चालक समितिका सदस्यले संयोजकत्व गर्ने गरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका दुई प्रतिनिधि एवं निगमका तर्फबाट समेत वरिष्ठ पदाधिकारी सदस्य रहने गरी एक उच्चस्तरीय कमिटी गठन गर्ने सहमति पनि भएको छ ।

निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५ को संशोधनका लागि एशोसिएशनका प्रतिनिधिसमेत रहने गरी विनियमावली संशोधन कमिटी गठन गर्ने र निगमको डिपोदेखि विक्रेताको पेट्रोलपम्पसम्म ट्याङ्कर लकिङलाई थप प्रभावकारी बनाउन आधुनिक लकिङ जडान गर्ने सहमतिसमेत भएको छ ।

Logo