नेपालको ‘रसुवा नेचुरल स्प्रिङ वाटर’लाई जापानको ‘गोल्ड क्वालिटी अवार्ड’

नेपालको ‘रसुवा नेचुरल स्प्रिङ वाटर’लाई जापानको ‘गोल्ड क्वालिटी अवार्ड’

केन्द्रबिन्दु
48
Shares

काठमाडाैं । नेपालको रसुवा जिल्लामा प्रशोधन भएर करिव १ दर्जन देशमा निर्यात हुँदै आएको ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ले जापानमा यस वर्षको पिउने पानीको उच्च गुणस्तर ‘गोल्ड क्वालिटी अवार्ड’ पाएको छ ।

‘गोल्ड क्वालिटी अवार्ड’ जापानमा पिउने पानीले पाउने सर्वाधिक गुणस्तर प्रमाण हो । जापानमा एक बर्षअघि व्यावसायिक विक्रीको अनुमति पाएको नेपालको पहिलो ‘मिनरल वाटर’ ‘रसुवा नेचुरल स्प्रिङ वाटर’लाई टोकियोमा शुक्रबार एक कार्यक्रमका बीच जापान अक्वा सोमेलियर एशाेसिएशनले ‘गोल्ड क्वालिटी अवार्ड’ हस्तान्तरण गरेको छ ।

अवार्ड नेपाली राजदूतावास जापानका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीको उपस्थितिमा अक्वा सोमेलियर एशाेसिएशनका प्रमुख यामानाकी आकीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ जापान विक्री वितरण गर्दै आएको हार्मोनी कम्पनी लिमिटेड जापानका अध्यक्ष योकोयामा दाईगोलाई हस्तान्तरण गरेका थिए ।

जापान अक्वा सोमेलियर एशाेसिएशनले जापानमा विक्री वितरण हुने पिउने पानिको कम्पनीहरु मध्येबाट एकलाई हरेक बर्ष गुणस्तरको आधारमा ‘गोल्ड क्वालिटी अवार्ड’ प्रदान गर्दै आएको छ । जापानमा करिव ४ सय कम्पनीका विभिन्न ब्राण्डका मिनरल वाटर विक्रिमा रहेको कम्पनीका अधिकारीले अवार्ड हस्तान्तरणका अवसरमा जानकारी दिएका छन् ।

पानीको मुल, प्रशोधन, प्याकेजिङ्, प्याकिङ् बोतल, वितरण प्रणाली सहित खपतको अवस्थासम्मलाई मुल्यांकन गरेर जापान अक्वा सोमेलिएर असोसिएसनले दिने पानीको गुणस्तर मापनको यो अवार्ड तीन बर्षसम्म कायम रहने रसुवा पानीको जापान वितरण गर्दै आएको हार्मोनी कम्पनी लिमिटेड जापानका निर्देशक केशवराज घिमिरेले जानकारी दिए ।

अक्वा सोमेलियर जापानमा विक्रि गर्ने अनुमति पाएको बिदेशबाट आयातित पिउने पानीको अनुगमन गर्ने सरकारले तोकेको आधिकारिक निकाय हो । जापान अक्वा सोमेलियर एशाेसिएशनका प्रमुख यामानाका आकीले ‘गोल्ड क्वालिटि अवार्ड’ हस्तान्तरण गर्दै जापानी खपतकर्ताहरुमा रसुवा पानी लोकप्रिय बन्दै गएको आफुले पाएको बताउँदै कम्पनीलाई गुणस्तर कायम राख्दै व्यापार विस्तारको शुभकामना व्यक्त गरे ।

अवार्ड वितरणका क्रममा आयोजकले जापानी ह्विस्की, कफी तथा जापानी कोच्या चियामा रसुवा पानी प्रयोग गर्दा स्वादको गुणस्तर उच्च पाइएको विभिन्न ‘एक्सपर्ट’हरुको अनुभव सुनाएको थियो ।

अवार्ड वितरण कार्यक्रममा राजदूत डा. दूर्गा बहादुर सुवेदी सहित एनआरएनए आईसिसीका उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नविन निउरे, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, अग्रज व्यवसायी बिनोद शेरचन लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै राजदूत डा. सुवेदीले नेपालको हिमाली भेगको उच्च गुणस्तरको पिउने पानीको जापानमा विक्रि हुनु त्यसमा पनि यहाँको उच्च गुणस्तरको अवार्ड प्राप्त गर्नु नेपाली व्यवसायीहरुका लागि सुनौलो मौका भएको बताउँदै नेपालमा उत्पादन र पाइने अमुल्य खनिज पदार्थहरुको जापानमा बजारीकरणको उच्च सम्भावना रहेको बताउँदै यसमा लाग्न नेपाली व्यवसायीहरुमा अनुरोध गर्दै आवश्यक समन्वय र सहयोग गर्न नेपाली राजदूतावास सदैव तयार रहेको बताए ।

जापानमा हाल ४ हजार मिटर भन्दा माथि मुल भएको पिउने पानि व्यावसायिक रुपमा विक्रिमा नपाइएको तर रसुवा पानी रसुवाको धुन्चेमा ४ हजार मिटर भन्दा माथिको हिमाली भेगको मुलबाट आएको स्वस्छ पिउने पानी भएकाले पानीको श्रोत, मिनरलको मात्रा, पानीको नरमपना आदिका कारण एकपटक प्रयोग गरेका जापानी खपतकर्ताहरुले रसुवा नेचुरल स्प्रिङ वाटरलाई निरन्तर अर्डर गरेर पिउने गरेको हार्मोनीका निर्देशक घिमिरे बताउँछन् ।

हालसम्म जापानीहरुलाई लक्षित गरेर विभिन्न कम्पनीका सुपरमार्केटहरु सहित ‘अमाजोन’ र ‘राकुटेन’ अनलाईन प्लेटफर्म मार्फत विक्रिवितरण हुँदै आएको ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ अब भने जापानका नेपालीहरुलाई पनि लक्षित गरेर विक्रिको तयारी थालिएको घिमिरेको भनाई छ ।

‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नेपालको रसुवा जिल्लामा ‘रुद्रगंगा नेचुरल वाटर प्रा.लि.’ले उत्पादन गर्दै आएको छ ।

Skip This
Skip This
Logo