मह बेचेर वार्षिक १२ लाखबढी आम्दानी

मह बेचेर वार्षिक १२ लाखबढी आम्दानी

केन्द्रबिन्दु
15
Shares

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् ।

मौरीपालनबाट उनले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दनी गरिरहेका छन् ।

घर्कंदो उमेरमा पनि उनी हट्टाकट्टा देखिन्छन् । काम गर्ने जोस जाँगर पनि उनमा युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ ।

उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उहाँले विसं २०५० देखि व्यावसायिक रुपमा मौरीपालन गर्न थालेका हुन् ।

तीन दशक मौरीपालन गरेका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागतीखेती समेत गर्न थालेको बताए । उनको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ । उनले सुन्तलका तीन सय र कागतीका एक सय ५० बोट लगाएका छन् । ती बिरुवाले विस्तारै फल दिन थालेको उनले बताए ।

जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आएका छन् । उनी अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि हुन् । आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पुगाउँदा उनीहरूलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गरे । वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उनले सबै खर्च कटाएर रु १२ देखि रु १५ लाखसम्म आम्दानी हुँदै आएको जानकारी दिए ।

“विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागेँ”, उपाध्यायले भने, “मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।” मह प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उनले बताए ।

महको माग निकै बढेको हुँदा पुगाउन नसकेको उपाध्यायको भनाइ छ । कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उनको भोगाइ छ । मौरीपालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मन्ने उहाँले पहाडी क्षेत्र मौरीपालनका उपयुक्त हुने धारणा राखे ।

उपाध्यायले भने, “विसं २०४८ तिर मौरीपालनसम्बन्धी तालिम लिएँ, त्यसपछि व्यावसायिक रुपमा पाल्न थालेको हुँ अहिलेसम्म पाल्दै आएको छु । महको माग बढी भएकाले पुगाउन सकिरहेका छैनौँ ।” युवा विदेश जानुभन्दा स्थानीय सरकारको सहयोगमा स्वरोजगारमूलक काममा लाग्नुपर्नेमा उनले जोड दिए ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोहोत्सान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताए । किसानलाई आवश्यक अनुदान, मल, बीउ, तालिम र प्राविधिक सहयोग गर्दै आएको उनले उल्लेख गरे ।

पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माले बताए ।

Logo