काठमाडौं । माथिल्लो अपर तामाकोशी हाइड्रोपावर मर्मतका लागि पुर्याइएको करोडौं मूल्यको सामान चोरी भएको आंशका गरिएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी यूनियनले एक सूचना जारी गर्दै मर्मतका क्रममा निकालिएका सामग्रीहरू चोरी भएको हुन सक्ने आंशका गरेको हो ।
४५६ मेगावाटको उक्त आयोजना लामावगरस्थित बाँधस्थलका कन्ट्रोल विल्डिङ, सेटलिङ वेसिन लगायतका संरचनाहरु असोज १२ गते परेको भीषण वर्षा र पहिरो आई क्षतिग्रस्त हुन पुगेको छ । आयोजना प्रभावित हुँदा जलविद्युत केन्द्रको विद्युत उत्पादन विगत १ महिनादेखि अवरुद्ध रहेको यूनियनले जानकारी दिएको छ ।
अहिले विद्युत उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकार ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको निर्देशनमा कम्पनी व्यवस्थापनबाट क्षतिग्रस्त स्थानको सरसफाइ र कम क्षतिको सेटलिन वेसिनको मर्मत कार्य भइरहेको छ ।
क्षतिग्रस्त कन्ट्रोल विल्डिङ लगायतका स्थानहरुको सरसफाइ गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू लगायतका करोडौं पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको सञ्चारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस यूनियन गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।
विगतमा पनि आयोजनाका करोडौं करोड पर्ने क्रेन लगायत बहुमूल्य सम्पत्ति चोरी भएको थियो । यसरी, अपर तामाकोशी कम्पनीको सम्पत्ति पटक पटक चोरी निकासी हुनु रहस्यमय र शंकास्पद विषय भएकोले दोषीलाई युनियनले कडा कारबाहीको मागसमेत राखेको छ ।





























प्रतिक्रिया