पूर्वाधार विकास बैंकको ८ अर्बको आईपिओ आउँदै

पूर्वाधार विकास बैंकको ८ अर्बको आईपिओ आउँदै

केन्द्रबिन्दु
0
Shares

पूर्वाधार विकास बैंकले ८ अर्ब रुपैयाको आईपिओ निष्काशन गर्ने भएको छ।

संस्थापक लगानीकर्ताको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ शेयर पुँजी रहने पूर्वाधार विकास बैंकले बिहीबार सञ्चालन स्वीकृति पाएको छ । बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थागत लगानीकर्ताको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत शेयर रहेको छ । बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले  बैंकलाई लाइसेन्स दिएको हो । अनुमति पाएसंगै अर्को महिनासम्म बैंक सञ्चालनमा ल्याउने तयारी छ । बैंकका प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली र डेपुटी प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डे रहेका छन्।

बैंकमा नेपाल सरकार लगायत देशका  विभिन्न वाणिज्य बैकहरु, बिमा कम्पनीहरु तथा निजी क्षेत्रको लगानी रहेको छ ।

बैंकको मुख्य उद्देख्य पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागी आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, विक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने,  राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजीङ्ग कारोवार गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी श्रोत परिचालन गर्ने, विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने रहेको छ ।

Logo