‘फीन इलेक्ट्रो टेक २०२४’ मा सहभागी हुनेले के–के अवलोकन गर्न पाउँछन् ?

‘फीन इलेक्ट्रो टेक २०२४’ मा सहभागी हुनेले के–के अवलोकन गर्न पाउँछन् ?

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को आज अन्तिम दिन रहेको छ ।

भृकुटीमण्डपमा सञ्चालन भइरहेको ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औँ संस्करणको उक्त मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूले आज पनि अवलोकन गर्न सक्ने छन् ।

इलेक्ट्रोनिक्स उद्योगका उत्पादन प्रदर्शन गर्न, नयाँ उत्पादनको परिचय दिन, उद्योगका पेशेवरहरूलाई नेटवर्किङ गर्ने र उपभोक्ताहरूलाई नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले महासंघले आयोजना गरेको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको यस बृहत् मेलामा विद्युत्का सम्पूर्ण सामग्रीहरू उपलब्ध रहेका छन् ।

मेलामा उद्योग कलकारखानामा चाहिने विद्युतीय सामग्रीदेखि घरमा आवश्यक विभिन्न ब्रान्डका विद्युतीय सामग्री उपलब्ध रहेको छ । अर्किडको इन्फ्रारेड विद्युतीय चुल्हो, ट्रान्सवेल्ड ट्रान्सफर्मरले राखेको ४ हजार केभीएको विद्युत् ’ट्रान्सफर्मर’ लगायतका सामग्री आम अवलोकनकर्ताका लागि प्रदर्शनमा राखिएका छन् ।

फीन इलेक्ट्रो टेकमा हलभित्र र बाहिर गरी ९८ वटा पेभिलियन तथा स्टलहरू रहेका छन् । नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको मेलामा प्रदर्शन गरिएको छ ।

प्रत्येक दुई वर्षमा आयोजना हुने फीन इलेक्ट्रो टेकमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली र अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरू रहेका छन् ।

यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सी एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एचपीएल, फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, एल्मीक, लिब्राइट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।

Logo