काठमाडौँ । आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपलाई नवलपरासीको दलदलेमा विस्तार गरेको छ ।
सडक यात्रुका लागि रेस्टुरेन्टको सुविधाका साथै सार्वजनिक विद्युतीय सवारीसाधनका लागि २ वटा जीबी–टी चार्जर र निजी सवारीसाधनका लागि सिसिएस टु चार्जर जडान गरिएको ई–स्टपको मंसिर २ गते औपचारिक उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरव श्रेष्ठले भने, ‘ई–स्टपको तेस्रो संस्करण दलदलेमा सञ्चालनपछि राजमार्गका यात्रुहरूलाई निकै सहज हुनेछ । यस ई–स्टपले महेन्द्र राजमार्गमा बढिरहेको विद्युतीय सवारीसाधनलाई चर्जिङ्गको सुविधा दिनुको साथै रेस्टुरेन्टले सुलभ मूल्यमा सफा र मीठो खानाको सुविधा दिनेछ ।’
दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले दिगो ई–स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको बताए । ‘दिगो ई–स्टप एउटा पिट स्टप मात्र होइन, यो एक दर्शन समेत हो । हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि समर्पित छौँ’ उनले भने ।
दलदलेमा दिगो ई–स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्ने जनाइएको छ । यसको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेशनहरू राखिएकाले विद्युतीय सवारी साधनहरू सधैँ सडकमा छन् भनी सुनिश्चित गर्ने बताइएको छ । दलदलेको साथै दिगो ई–स्टप रामटार र कुरिन्टारमा पनि सञ्चालन भइरहेको छ ।































प्रतिक्रिया