काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले इलेक्ट्रिक ‘टिभिएस आइक्युब’ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै टिभिएस आइक्युबको २.२ किलोवाट आवर भेरिएन्ट भएको नयाँ स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरूमा उपलब्ध रहेका छन् । कम्पनीले टिभिएस आइक्युबको शुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता यस स्कुटरको खास विशेषता हो । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अप्सनहरू रहेका कम्पनीको भनाइ छ ।

यस्तै, टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले आम नेपालीको रोजाइमा टिभिएस आइक्युब स्कुटर पर्ने अपेक्षा लिएको बताए । ‘नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ, हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ,’ उनले भने ।
विश्वभरी ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेको जानकारी दिँदै सिंहले आईक्युबले उत्कृष्ट ईभी अनुभव प्रदान गर्ने पनि बताए ।
नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्ने बताइएको छ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ भेरिएन्टको लन्चसँगै कम्पनीले बिक्री पछिको सेवालाई पनि विशेष ध्यानमा राखेर अगाडि बढ्ने बताए । ‘टिभिएस आईक्युब नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिवर्तनमा अझ गति थप्नेछ, हाम्रो नेटवर्क र उत्कृष्ट इन स्टोर बिक्रीका साथ यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं,’ उनले भने ।
टिभिएसले नयाँ स्कुटर सार्वजनिक गरेसँगै यसको बुकिङ पनि खुल्ला गरेको छ । यस स्कुटरको बुकिङ टिभिएसको नेपाली वेबसाइटमा आधिकारिक डिलरहरूबाट गर्न सकिने अग्रवालले बताए । काठमाडौं टिभिएसका ४० वटा डिलरहरू छन् । टिभिएसको नयाँ इलेक्ट्रिक स्कुटरले नेपाली अटो बजारमा ईभीको पहुँचलाई थप मजबुद बनाउने अग्रवालले जानकारी दिए ।
ब्याट्री क्षमता २.२ किलोवाट आवर भएको यो स्कुटरको टप स्पिड ७५ किमी प्रतिघण्टाका रहेको छ । ५ इन्चको रंगीन टिएफटी स्क्रिन भएको टिभिएस आईक्युब २ घण्टामा फुल चार्ज हुने कम्पनीको भनाइ छ ।





























प्रतिक्रिया