काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताएका छन् ।
महाराजगञ्जमा स्थापित ‘लोरलिङ मन्डला लर्ड’ होटलको उद्घाटनका क्रममा मन्त्री पाण्डेले पर्यटनलाई मुलुकको आर्थिक आधारका रूपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल नागरिकको तल्लो तहसम्म पुर्याउनुपर्ने बताएका हुन् ।
विदेशी पर्यटकहरूको आवागमन वृद्धिसँगै पर्यटन क्षेत्रका विभिन्न कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन लागेको मन्त्री पाण्डेको भनाइ थियो । निजी क्षेत्रलाई पर्यटन उद्योगमा लगानी गर्न आह्वान गर्दै उनले भने, “निजी क्षेत्रको लगानी सुरक्षाको सुनिश्चितता सरकारले लिन्छ, ढुक्क भएर लगानी गर्नुहोस् ।”
मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई दिगो बनाइ बढीभन्दा बढी रोजगारी सृजना गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको पर्यटनको पूर्वाधारका रूपमा होटल तथा रिसोर्टको पनि विकास गर्नुपर्नेमा जोड दिए ।































प्रतिक्रिया