काठमाडौं । नेपाली बजारमा पछिल्लो समय कफी माग बढ्दै जाँदा व्यवसायीक उत्पादनमा किसानहरू सक्रिय भएर लाग्न थालेका छन् । बजारमा कफीको खपत उच्च हुनु र अन्तर्राष्ट्रिय बजारसमेत मागलाई बढी राख्दा नेपालमा यसको उत्पादनले प्राथमिकता पाउन थालेको हो ।
यद्यपि नेपालमा कफीको उत्पादन भने पर्याप्त भइसकेको छैन । जसको कारण अझै पनि नेपालमा करोडौं रुपैयाँको कफी आयात गरेर ल्याइ राख्नु परेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को (साउनदेखि कार्तिकसम्म) मा विभिन्न देशबाट ४ करोड ८२ लाख ८१ हजार रुपैयाँको कफी आयात भएको विभागले जानकारी दिएकाे छ । विभागका अनुसार उक्त मूल्यको ६९ हजार ७७४ केजी कच्चा कफीको आयात भएको हो ।
नेपालबाट भने कार्तिकसम्ममा ३ करोड ३५ लाख ७५ हजार रुपैयाँको १८ हजार ६७९ केजी कच्चा कफी निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त अवस्थाले नेपालमा कफी उत्पादनको राम्रो सम्भावना र कफी उद्योगको भविष्य उज्ज्वल रहँदा समेत यस क्षेत्रलाई व्यवस्थित र सशक्त बनाउन खासै पहल नभएको देखाउँछ ।
तर, नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारी भने नेपालमा कफी उत्पादनको अवस्थाले पछिल्ला केही वर्ष यता प्रगति हासिल गर्दै गएको बताउँछन् । उनका अनुसार कफी नेपालको कृषि उत्पादनहरूको बिचमा एक प्रमुख निर्यात वस्तु बन्ने कोसिसमा रहेको छ ।
‘नेपालमा कफी उत्पादनको सम्भावना प्रचुर छ, अहिले धेरै जना व्यवसायीक उत्पादनमा लागेका छन्, जसले गर्दा उत्पादनमा बृद्धि भएको छ,’ उनले भने ।
सरकारले कफीको गुणस्तरसँगै उत्पादनमा फोकस गरिदिए थप सहज हुने उनको भनाइ छ । महासंघले कफीको उत्पादनमा लगानी बढाउनु पर्छ भनेर काम गरिरहेको पनि अधिकारीले बताए ।
नेपालमा करिव १२ लाख हेक्टर जमिनमा कफीको उत्पादन गर्न सकिने सम्भावना देखिन्छ । जसमध्ये अहिले ३२ सय हेक्टर जमिनमा मात्र कफी उत्पादन भइरहेको अधिकारीले जानकारी दिए । हाल २५ वटा जिल्लामा कफी खेती हुँदै आएको छ ।
‘कफी व्यवसायीहरू उत्पादनमा भन्दा ट्रेडिङ गर्नमा लाग्नु भयो, उत्पादनदेखि व्यापारसम्मको कफीको भ्यालु चेन गर्न सक्ने क्षमता व्यवसायीमा भयो भने यो क्षेत्रले फड्को मार्छ, जसले कफीको उत्पादन बढ्छ भने अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गर्न सकिने छ,’ उनले भने ।
उत्पादन सुस्त, माग उच्च
नेपालमा उत्पादन भएको कफीको माग यहाँ मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि उच्च छ । काभ्रेमा ५० रोपनी क्षेत्रमा कफी खेती गरिरहेका वीरधोज लामा कफीको माग स्वदेश तथा विदेशमा समेत उच्च रहेकाे बताउँछन् ।
‘कफीको बजार अहिलेसम्म राम्रो छ खासै समस्या छैन, मैले यहाँ उत्पादन गरेको कफी विदेश पनि निर्यात हुन्छ, माग राम्रो भएकै कारण म आफैं अझै कफी खेतीमा लगानी बढाइरहेको छु,’ लामाले केन्द्रबिन्दुसँग भने ।
सुख्खा कफीको प्रतिकेजीको ६/७ सय र तयारी कफी विदेश पढाउँदा २० डलर सम्ममा बिक्री गर्दै आएको लामाले जानकारी दिए । उनले ४ जनालाई रोजगार पनि दिएका छन् ।
बजारमा माग हुँदाहुँदै पनि उत्पादन गर्न नसक्नु आफैंमा समस्या हो । विश्वको सबै भन्दा उत्कृष्ट कफी उत्पादन नेपालमा हुन्छ । तर, उत्पादन ठूलो परिणाममा नहुँदा निर्यात सोही अनुरुपको गर्न नसकेको व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारले माग अनुसारको उत्पादन नेपालमा रहेको तर, माग पूरा गर्न नसकिरहेको पनि लामाले बताए ।
अध्यक्ष अधिकारीका अनुसार छिटो कफीले प्रतिफल नदिने र प्रतिफल छिटो मान्छेलाई चाहिने भएका कारण कफी खेतीमा लगानी बढेकाे छैन । ‘मान्छेलाई छिटो प्रतिफल चाहिएको छ, सेयरमा लगानी गर्यो भने उसले घण्टामै लाखौं कमाउन सक्छ, युवा जमात छिटो नाफा हुने ठाउँमा लाग्दा कफी खेतीमा कमै लागेको देखियो,’ अधिकारीले भने ।
यद्यपि कफीको व्यवसायीक खेतमा धेरै किसानहरु लाग्न थालेको अधिकारीले जानकारी दिए । कफी रोपेको ३ वर्षपछि उत्पादन हुन थाल्छ । सरकाले कफी उत्पादन गर्ने किसानलाई सहुलियत ब्याजदरमा ऋणहरू उपलब्ध वा सेवा सुविधाहरू उपलब्ध गराए कफी खेतीमा युवाको पनि आकर्षण बढ्ने अधिकारीको भनाइ छ ।
नेपालमा यसको उत्पादन बढेसँगै वार्षिक झण्डै ६०० टन कफीको उत्पादन हुँदै आएको छ । ‘नेपालमा हाम्रो उत्पादनले ४/५ महिना मात्र धान्छ, यहाँ माग धान्नलाई वार्षिक २१ सय टनको कफीको आवश्यकता पर्छ, नपुगेको कफी आयात गरेर ल्याउने हो,’ उनले भने ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी वार्षिक ८ सय टन हाराहारीमा माग रहेको पनि अधिकारीले जानकारी दिए । खेर जाने वनभित्र व्यवसायीक खेत गर्न दिनु पर्ने कुरामा जोड दिँदै कफी उत्पादक किसानहरूलाई अनुदान साथै अन्य सरकारी सहयोगको अभावमा रहेको अधिकारीले बताए ।
कफी प्रतिको मोह र मूल्य बढ्दो
नेपालमा कफी कल्चर बढ्दै गएको छ । जसका कारण माग र खपत बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ । साथी भाइ भेट्दा होस् या अन्य कोही कफी वा चिया सोध्ने चलन नै छ । जुनै माैसममा पनि युवायुवती कफी पिउन रुचाउने भएकाले कफी कल्चरको मोह बढ्दै गएको ठम्याउन सकिन्छ ।
जाडो मौसम बढेसँगै चिया र कफी पसलमा भिड् बढ्नु स्वभाविक भइहाल्यो । तर, कफी प्रतिको मोह बढेसँगै यसको मूल्य पनि बृद्धि भइरहेको छ ।
अहिले बजारमा गएर कुन प्रकारको कफी खाने वा किन्ने हो सोही अनुसारको मूल्य पर्छ । कफी व्यवसायी महासंघका अधिकारी भने कफी गुणस्तर राम्रो भएर मूल्य महँगो भएको बताउँछन् । ‘विदेशमा मेसिनको प्रयोग गरेर कफी टिप्छन्, लागत कम हुन्छ र मूल्य पनि कम पर्न जान्छ, तर नेपालमा कफीलाई हातले टिप्नु पर्ने र प्रशोधनको लागि समय लाग्ने भएकाले महँगो पर्छ,’ उनले भने ।
उत्पादन बढ्दै गए कफीको मूल्य पनि कम हुँदै जाने अधिकारीले बताए । उत्पादन गरी गुणस्तरलाई ख्याल राख्दै उचित ब्राण्डिङ गरेर कफीको निर्यात गर्न सकेको अर्थतन्त्रमा पनि यो क्षेत्रले महत्वपूर्ण योग्दान पुर्याउने उनको भनाइ छ ।





























प्रतिक्रिया