काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो डेढ वर्षको उपलब्धी सार्वजनिक गरेका छन् ।
आफूले कार्यभार सम्हालेको डेढ वर्षमा मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरूको सामना गरी लगानी प्रवर्द्धन र नीतिगत सुधारमा महासंघको सक्रियता देखिएको उनले बताएका छन् । उनले राज्यले बनाउने हरेक नीतिगत व्यवस्था, ऐन, कानून र व्यवसायीहरूका समस्या समाधानमा महासंघले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् ।
महासंघको नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेकै भोलिपल्ट राष्ट्रिय सभाले बैंक, मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने गरी दुई वटा विधेयक पारित गरेको थियो । यहीँबाट सुरु भएको थियो, महासंघमा ढकालको अग्निपरीक्षा ।
राज्यले बनाउने हरेक नीतिगत व्यवस्था, ऐन, कानून र व्यवसायीहरूका समस्या समाधानमा महासंघले महत्त्वपूर्ण भूमिका खेलेको ढकालको दाबी छ ।
राष्ट्रिय सभाले निजी क्षेत्रलाई पनि अख्तियार दुरूपयोग अनुसन्धानको दायरामा ल्याउने गरी कानून पारित गरेर निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित गर्न सक्ने व्यवस्थामा संसद्को माथिल्लो सदनले अनुमति दिएको घटना थियो यो ।
त्यसपछि महासंघ नेतृत्वले तत्काल संसद्को सबैभन्दा ठूलो दलका मुख्य सचेतक तत्कालीन प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरे । तत्काल कांग्रेस संसदीय दलले संसद् सचिवालयमा छलफल राखेर निजी क्षेत्रका प्रमुख संस्थाहरूलाई बोलायो ।
त्यहाँ अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत निजी क्षेत्रले निजी क्षेत्रमा अख्तियारको प्रवेश किन हुनुहुँदैन भनेर आफ्ना धारणा राख्यो । त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बारम्बार छलफल भयो । विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था समितमा गएर छलफल शुरु भयो ।
अहिले राजनीतिक दल निजी क्षेत्रमा अख्तियारको प्रवेश रोक्न सहमत भएका छन् ।
निजी क्षेत्र किन महत्वपूर्ण छ भन्ने विषयमा सबैलाई जानकारी गराउनु पर्ने आवश्यकता महासंघले महसुस गरेको थियो । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्यमा स्टेट अफ प्राइभेट सेक्टर नामक अध्ययन प्रतिवेदन २०८० जेठमा सार्वजनिक गरियो, जसले पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदन देखायो । जस अनुसार अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान देखाएको छ । जसलाई अहिले धेरैले सन्दर्भ सामग्रीको रुपमा प्रयोग गरेको पनि पाइएको छ ।
यस विषयलाई तार्किक निष्कर्षमा पुर्याउन मिति २०८१ भाद्र २ गते महासंघले संघीय संसदका सदस्यहरुसँग दीगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया आयोजना गर्यो । उक्त कार्यक्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयकको साथै निजी क्षेत्रसँग सम्बन्धित संसदमा विचाराधिन वाफिया, विद्युत, राष्ट्रिय मर्यादा, भन्सार, विद्यालय शिक्षा लगायतका १२ भन्दा बढी विधेयकमा छलफल भयो । दुवै संसदका करिब एक सय ७५ सांसदको यसमा उपस्थिति थियो ।
२०८१ भदौ ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण ऐनमा निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी राखिएको व्यवस्था हटाउन राज्य व्यवस्था समितिमा महासंघले लिखित पत्र दर्ता गर्यो । अहिले राजनीतिक दल निजी क्षेत्रमा अख्तियारको प्रवेश रोक्न सहमत भएका छन् ।
अर्को बर्षौको विवादको बिषय डेडिकेटेड र टंकलाइन सम्बन्धमा हो । झण्डै पाँच बर्ष पहिलेदेखिको विवाद २०८० भदौमा फेरि चर्कियो । विद्युत प्राधिकरणले विवादास्पद बिषयमा उद्योगहरुको लाइन काट्ने भनेपछि महासंघ अध्यक्ष ढकालको नेतृत्वमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन पुगेको टोलीकै अगाडि उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लाइन नकाट्न निर्देशन दिए ।
विवाद तीन महिना समाधान भएजस्तो देखिए पनि पुषमा प्राधिकरणले सिधैं लाइन काटिदियो । यसमा पक्ष विपक्ष छलफल भए । सम्बन्धित उद्योग विरोधमा रहे भने प्राधिकरणले जसरी पनि वक्यौता उठाउने हठ गरिरह्यो । त्यसपछि महासंघले विवादको दिगो समाधानका लागि उच्चस्तरिय आयोग गठन गर्ने सरकारसंग प्रस्ताव राख्यो भने यस बिषयमा २०८० पुष ९ गते विज्ञप्ति प्रकासित गर्यो । जसमा प्रमाणको आधारमा विल भुक्तानी गर्ने गरि आयोगले काम गर्नुपर्ने माग महासंघको थियो ।
त्यसलगत्तै २०८० पुष २४ गते सर्वोच्च अदालतका पूर्व न्यायधिश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भयो । र आयोगले प्रतिवेदन पनि बुझायो ।

१० अर्बकाे कम्पनी स्थापना गर्नु निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुका साथै ठूला आयोजना संचालन गर्न सकिने सन्देश दिनु पनि हो ।
त्यसपछि पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नगर्ने धेरै बहस, छलफल भए । तर अन्तत: २०८१ कार्तिक २६ गते उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारले कार्यान्वयन गर्ने निर्णय गर्यो । यो बिषय पनि अब समाधान उन्मुख रहेको छ ।
अर्को पछिल्लो करिब तीन बर्षदेखि खल्बलिएको लगानीको वातावरणलाई सुधार गर्नुपर्ने चुनौति पनि महासंघ नेतृत्वमा थियो र छ पनि । बैंकहरुमा करिब ७ खर्ब लगानी योग्य रकम थुप्रिनु स्वदेशी लगानीकर्ताले लगानी गर्न नचाहेको प्रमाण हो भने तीन बर्ष अघिको तुलनामा विदेशी लगानी करिब ६० प्रतिशत घटेर ६ देखि ९ अर्ब हाराहारीमा सिमित भएको अवस्था छ । यो कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब २ प्रतिशत हो । नेपालसँगै विश्व व्यापार संगठनको सदस्य बनेको कम्बोडियामा कुल गार्हस्थ्य उत्पादनको साढे १२ प्रतिशत विदेशी लगानी छ भने रुवाण्डा, इथियोपिया र बंगलादेशजस्ता नेपाल जस्तै अतिकम बिकसित मुलुकमा ४ प्रतिशत माथि छ ।
महासंघको ढोरपाटनमा सम्पन्न कार्यकारिणी समितिले महासंघको पहलमा एउटा लगानी कम्पनी स्थापना गरि देशैभरिको सानो लगानीलाई विभिन्न क्षेत्रमा प्रवाह गर्ने निर्णय गर्यो । उक्त कम्पनी महासंघले संचालन गर्ने नभइ शुरुमा प्रवद्र्धन गर्ने र यसको छुट्टै संचालक समिति रहने गरि सबै संघसंस्थाका सदस्य एवं गैर सदस्य पनि लगानीकर्ता रहने गरि प्रवद्र्धन गरिएको छ । १० अर्ब रुपैयाँसम्म पुँजी रहने उक्त कम्पनीको अर्को उद्देश्य निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुका साथै स्थानीय पुँजी परिचालन गरि ठूला आयोजना संचालन गर्न सकिने सन्देश दिनु पनि हो ।
यतिमात्रै होइन विदेशमा नेपाल प्रवद्र्धन गर्न यस अवधिमा ४ वटा वृहद लगानी सम्मेलन देशबाहिर आयोजना गरिए । चीनमा दुई पटक नेपाल चीन बिजनेस समिट आयोजना गरियो । सन २०२३ सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री दाहाल र २०२४ डिसेम्बर ४ मा आयोजित समिटमा प्रधानमन्त्री केपी शर्मा ओली मुख्य अतिथि थिए । चीनका वाणिज्य उपमन्त्री लियांग जी विशेष अतिथि रहेको उक्त दुवै कार्यक्रममा करिब डेढ सय चिनिया उद्यमी व्यवसायीको सहभागिता थियो । महासंघले चिनिया साझेदार संस्था सिसिपिआइटीसंगको सहकार्यमा उक्त सम्मेलन आयोजना गरेको थियो ।
२०८० जेष्ठ १८ गते नया्ँ दिल्लीमा नेपाल भारत समिट आयोजना गरिएको थियो । भारतको सम्मेलनमा तत्कालिन प्रधानमन्त्री दाहाल प्रमुख अतिथि रहेकाे उक्त समिटमा भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल विशिष्ट अतिथि थिए । त्यसपछि मिति २०८० मंसिर १४ गते दुवइमा नेपाल दुबई बिजनेस फोरम आयोजना गरियो । विश्वमा नै निक्कै प्रभावशाली रहेको दुवई चेम्बर्ससंगको सह–आयोजनामा सफलतापूर्वक कार्यक्रम भयो । तत्कालीन प्रधानमन्त्री दाहालको उपस्थित रहेको उक्त कार्यक्रममा करिब एक सय ७० जनाको उद्योगी व्यवसायीको सहभागिता थियो ।
मौद्रिक नीतिमा नयाँ चरणको सुधारका लागि निजी क्षेत्र सम्मिलित उच्चस्तरिय आयोग गठनको माग अध्यक्ष ढकालकै पहलमा पहिलो पटक भएकाे थियाे ।
२०८० कार्तिक २० र २१ गते दक्षिण पुर्वी एसियाली मुलुकका चेम्बरहरुको संगठन एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) को सम्मेलन नेपालमा आयोजना गरियो । उक्त सम्मेलन आयोजना गर्न क्याम्बोडियाले असमर्थता जनाएपछि नेपालमा आयोजित सो सम्मेलनमा करिब ६० जना विदेशी सहित झण्डै २ सय उद्यमी व्यवसायीको सहभागिता रहेको थियो । पहिलोपटक राजधानी बाहिर भैरहवामा महिला उद्यमी सम्मेलन आयोजना गरियो ।
कतारका राजा अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका तत्तकालिन प्रधानमन्त्री दाहालको उपस्थितिमा नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापनाका लागि महासंघ र कतार चेम्बर बीच मिति २०८१ बैसाख १२ मा काठमाण्डौमा सझौतापत्रमा हस्ताक्षर भयो । त्यसपछि अध्यक्षस्तरिय वैठक दोहामा सम्पन्न भएको छ ।
अगष्ट ६—७, २०२४ मा भारतको नयाँदिल्लीमा सम्पन्न बिमस्टेक बिजनेस समिट २०२४ मा विम्सटेक चेम्बर अफ कमर्श स्थापना गर्ने सहमति भएको छ । यसको प्रस्ताव अध्यक्ष ढकालले २०२३ जुनमा कोलकतामा आयोजित यस्तै सम्मेलनमा राखेका थिए ।
महासंघको अन्तराष्ट्रय लगानी सम्मेलनहरुमा निरन्तर संलग्नता पश्चात सम्भावित लगानी गर्ने मुलुकहरुसँग द्धिपक्षीय लगानी सम्झौता आवश्यक रहेको विषय सम्वन्धित निकायमा निरन्तर माग गरे पछि द्धिपक्षीय लगानी सम्झौताको खाका मन्त्रिपरिषदले पारित गरेको छ । केही मुलुकहरुसँग सम्झौता गर्ने गरी छलफल अगाडि बढेको छ । महासंघले यसमा सहजीकरण गरिरहेको छ ।
अध्यक्ष ढकाल भन्छन्, ‘हामी महासंघ सुधारकाे निरन्तर प्रयास गरिरहेका छौं र गरिरहने छौं ।’
२०८१ वैशाख १६ र १७ गते आयोजना गरिएको तेश्रो लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्रको आग्रहमा लगानी बाधकको रुपमा रहेका कानूनमा सुधार भए । यो सुधारको शुरुवात हो । यसबीचमा संरचनात्मक सुधारका लागि नयाँ चरणको सुधार योजना अगाढि बढाउन आवश्यक रहेको महासंघले महसुस गर्यो । २०८० असोज २५ गते वृहद आर्थिक बहस कार्यक्रम आयोजना गरि चालु पुँजी कर्जा मार्गनिर्देशन लगायतमा सुधार तत्काल परिमार्जनसंगै नयाँ चरणको आर्थिक सुधार गर्नुपर्ने र यसका लागि उच्चस्तरिय आयोग गठनको माग महासंघले गर्यो ।
यसबीचमा गत बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा केही माग सम्बोधन भए । चालु पूँजी कर्जा मार्गदर्शनमा केही संशाेधन भए । त्यसले थोरै राहत भएपनि पुरै उद्यमी व्यवसायीले पुरै राहत महसुस गर्न सकेनन् । चालु आर्थिक बर्षको मौद्रिक नीतिले अन्य केहि विषय समावेश भए । तर यी सुधारका लागि पर्याप्त थिएनन् ।
नयाँ चरणको सुधारका लागि निजी क्षेत्र सम्मिलित उच्चस्तरिय आयोग गठनको माग अध्यक्ष ढकालकै पहलमा पहिलो पटक भएकाे थियाे । नयाँ अर्थमन्त्रीको सय दिने कार्यक्रममा पनि यो विषय समावेश भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सय दिने कार्यक्रमको सम्बोधनमा पनि प्रष्ट रुपमा निजी क्षेत्रको माग बमोजिम आयोग गठन भएको भन्ने उल्लेख छ ।
त्यसलगत्तै पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा आयोग गठन भएको छ, जसमा महासंघ अध्यक्ष ढकाल लगायत अन्य संस्थाका अध्यक्ष पनि सदस्य छन् ।
‘अब सुधारको थप जिम्मेवारी म माथि आएको छ,’ अध्यक्ष ढकाल भन्छन्, ‘हामी निरन्तर प्रयास गरिरहेका छौं र गरिरहने छौं ।’
यसबीचमा महासंघका गतिविधि प्रभावकारीरुपमा संचालन गर्न सचिवालय सुधारमा विशेष पहल भयो । प्रमाणमा आधारित सुझाव दिन अनुसन्धान र बिकासका लागि बिजनेस इन्टिलिजेन्स सिस्टम सफ्टवेयर जडान गरिएको छ । नेपाल राष्ट बैंकसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसको समेत उपयोग गरि आगामी फेब्रुअरी पहिलो साता नेपाल अन्तराष्टिय आर्थिक सम्मेलन आयोजना हुँदैछ ।
महासंघको दैनिक कार्य संचालन अन्तर्गत लेखा प्रशासन अनलाइन बनाइयाे । मुख्य गरि लेखा र अन्य गतिविधिमा गरिएको प्रभावकारी सुधारको फलस्वरुप करिब आठ बर्षदेखि रोकिएको कर छुटको प्रमाणपत्र प्राप्त भएको छ । यसबाट सदस्यहरुलाई पनि कर छुटको प्रमाणपत्र लिन सहज भएको छ ।
महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएको छ, त्यो जाजरकोटको भुकम्प होस् या काठमाडौंको बाढी ।
उत्पत्तिको प्रमाणपत्रको व्यवस्थापनका लागि सफ्टवेयर बनिरहेको छ । समन्वय र यस सम्बन्धि थप सुधारका लागि जिल्ला नगर उद्योग उपाध्यक्ष सुरकृष्ण वैद्यको संयोजकत्वमा समिति गठन भएको छ । प्रमाणपत्र जारि गर्ने सबै जिल्ला नगर उद्योग वाणिज्य संघलाई अनिवार्य अनलाइन प्रणालीमा जोड्नु आवश्यक छ । प्रमाणपत्र जारि गर्ने प्रक्रिया यसबाट थप पारदर्शी हुने महासंघको विश्वास छ । जिआइजेडसंगको सहकार्यमा २० स्थानमा राजश्व सम्बन्धि तालिम यस अवधिमा आयोजना गरिए । धितोपत्र बोर्डसँगको सहकार्यमा पुँजीबजार सम्बन्धि तालिम आयोजना गरिरहेको छ । बजार प्रवद्र्धनमा सहयोग प्रदान गर्न मेला महोत्सव आयोजना गर्ने जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई एक लाख रुपैयाका दरले आर्थिक सहयोग पनि महासंघले दिन थालेको छ ।
महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पको राहतका लागि करिब २० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गरायो । टर्कीको भूकम्पको राहतका लागि पनि महासंघले सहयोग उपलब्ध गरायो । यही असोजको बाढीबाट प्रभावित जिल्लाहरुलाई एक लाख रुपैयाका दरले सहयोग प्रदान गर्ने निर्णय महासंघले गरेको छ । पाराओलम्पिकमा रजत पदक ल्याउन सफल पलेशा गोवद्र्धनलाई हौसला प्रदान गर्न पाँच लाख रुपैयाँ बराबरको सहयोग महासंघले प्रदान गरेको थियो ।































प्रतिक्रिया