काठमाडौं ।
कोरोना महामारीले विगत ९ महिनादेखि सुस्ताएको सुन बजारमा मंसिर लागेसँगै चमक देखिन थालेको छ । सुनको मूल्य भने विगत ७ महिनादेखि नै उकालो लाग्दै आएको छ । तर पनि मूल्यको कुनै प्रवाह नगरि बजारमा सुनको माग ह्वातै बढेको छ ।
कोरोना महामारीका कारणले अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य उच्च हुँदै गएकाले नेपाली बजारमा पनि यसको प्रभावले सुन बजारको चमक गुम्दै आएको थियो । अहिले पनि कोरोना महामारी हटेको त छैन तर बजार केही सहज भने हुँदै गएको छ । बजारमा मानिसहरुको आवात जावत बढ्दै गएकाले तथा मंसिरमा बिहेको लगन सुरु भएसँगै गुम्दै गएको सुन बजारको चमक देखिन थालेको सुन व्यवसायीहरुले बताएका छन् ।
कोरोना महामारीका कारण पछाडि धकेलिएका तथा यस वर्ष माघ फागुनमा पनि बिहेको लगन नभएकाले मंसिरमा नै धेरै बिहे हुने भएको छ । त्यसैले सुनको मूल्यमा तीव्र उतार चढाव देखिए पनि दैनिक ४० देखि ४५ किलोसम्म सुनको माग रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दैनिक सुनको माग बढ्दै गए पनि बैंकहरुमा सुन मौज्दात नभएकाले बजारमा सुनको अभाव भएको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए । उनले बजारमा सुनको माग ह्वातै बढे पनि सरकारको कमजोरीका कारण बैंकहरु तथा व्यवसायीहरुसँग सुनको अभाव भएको बताए । उनले भने, ‘सरकारको सुनचाँदी व्यवसायमा बनाएको नितीका कारण असल व्यवसायीहरुले ग्राहकहरुको माग पूरा गर्नका लागि विभिन्न चलखेलमार्फत सुन खरिद गर्नु परेको छ ।’
पछिल्लो समय कोरोना महामारी तथा सरकारले सुनको भन्सार बढाएकाले सुनको मूल्य उकालो लाग्दै आएको छ । गत साउनमा एक्कासी मूल्य बढेर १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसपछि घट्दै गएर ९० हजारसम्म आएको थियो । अहिले पुनः दैनिकरुपमा भाउ बढ्दै पछिल्लो एक सातामा दुई हजार ९ सय रुपैयाँले उकालो लागेको छ ।
गत मंगलबारदेखि निरन्तररुपमा बढ्दै गएको सुनको मूल्य शुक्रबार अर्थात आज तोलामा तीन सय रुपैयाँले बढेको छ । आजको कारोबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय र तेजाबी सुनको मूल्य ९२ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढ्दो क्रममा रहेको छ । बिहीबार १२ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
कालिगढको अभाव
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाका कारणले नेपालमा सुनचाँदीका गहना बनाउने २ लाखभन्दा बढी कालिगढहरु भारत भएकाले गहना बनाउने कालिगढको पनि अभाव रहेको महासंघका पूर्वअध्यक्ष शाक्यले बताए ।
उनका अनुसार नेपालमा २५ हजार सुनचाँदी पसलहरुमा २ लाखभन्दा बढी कालिगढहरु रहेका छन् । तर कोरोना महामारीको कारण कतिपय व्यवसायीहरुले पसल बन्द गरेका छन् । अहिले बजारमा सुनको माग बढ्दै गएको तर कालिगढ नहुँदा ग्राहकहरुको माग पूरा गर्न नसकिएको उनको भनाई छ । अहिले बजारमा ७० प्रतिशत भारतिय कालिगढ मात्रै आएको शाक्यले बताए ।
व्यवसायीहरु उत्साहित
कोरोना महामारीका कारण शिथिल भएको सुनचाँदी बजारमा मंसिर लागेसँगै उतार चढाव आएको छ । कोरोनाका कारणले चार महिनासम्म सुनचाँदीका पसलहरु बन्द भएका थिए । सुनचाँदीको माग महिलाहरुको विशेष पर्व तीजमा र बिहेको लगनको समयमा बढ्ने गरेको छ । विगतका वर्षहरुमा पनि बिहे तथा तीजको समयमा दैनिक ५० देखि ६० किलो सुनको माग आउने गरेको थियो ।
कोरोना महामारीका कारण ९ महिलादेखि रोकिएका बिहे तथा ९ महिना अगाडि देखिको अर्डर यहि मंसिरमा नै पूरा गर्नु पर्ने भएकाले कोरोना महामारीको कुनै प्रवाह बिना देशैभर सुनको माग बढेको व्यवसायीहरुले बताएका छन् । अहिले सुनको मूल्यमा उतार चढाव आएपनि उपभोक्ताहरुको आवश्यकता भएकै कारण माग भइरेहको व्यवसायीहरुको भनाई छ । तर सुनको मूल्य पछिल्लो ८ महिनादेखि नेपालीहरुको पहुँच भन्दा बाहिर गएको छ ।





























प्रतिक्रिया