सहसचिव पाण्डेको आक्रोशः खानेपानी मन्त्री र सचिव ‘घुस्याहा’ (प्रमाणसहित)

सहसचिव पाण्डेको आक्रोशः खानेपानी मन्त्री र सचिव ‘घुस्याहा’ (प्रमाणसहित)


(कृष्णसिंह धामी)

काठमाडौं । नेपाल सरकारका एक जना सहसचिवले ‘मन्त्री र सचिवले जिम्मेवारी नदिएका कारण आफूले कुनै काम गर्न नपाएको’ आरोप लगाएका छन् ।

खानेपानी मन्त्रालयका सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरमाथि ‘घुस्याह’ को आरोप लगाएका हुन् । उनले मन्त्री र सचिवले जिम्मेवारी नदिएका कारण आफूले कुनै काम गर्न नपाएको उल्लेख गर्दै कार्य सम्पादन मूल्यांकन फारम पेश गरेका छन् ।

सहसचिव पाण्डेले घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको कुरा कार्यसम्पादन मूल्यांकन फाराममा उल्लेख गरी सचिवलाई पेस गरेका हुन् ।

राजपत्रांकित निजामती कर्मचारीहरूले पेस गर्नुपर्ने प्रथम अर्ध वार्षिक कार्य सम्पादन मूल्यांकन फारमको विवरणमा सहसचिव पाण्डेले लेखेका छन्, ‘माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको ।’

सहसचिव राजनराज पाण्डेले भरेको का.स.मू फारममा सचिव र मन्त्रीमाथि लगाईएको आरोप रातो घेरामा ।

सहसचिव पाण्डेले उक्त कुरा सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै सहसचिव पाण्डेले लेखेका छन्, ‘लौ अर्धवार्षिक का.स.मू पनि भरियो । कृपया तलको फोटोभित्र ध्यान दिएर सबै पढ्न अनुरोध छ ।’

सहसचिव पाण्डेले आफुले सार्वजनिक गरेको कुराले सबै प्रस्ट भएको प्रतिक्रिया दिएका छन् । टेलिफोन सम्पर्कमा उनले भने, ‘जुन का.स.मू फारममा मैले लेखेका छुँ । त्यो यर्थात कुरा हो । मैले विगत ६ महिनादेखि काम पाएको छैन् । हाजिर गर्छु, दिनभरि बस्छु । सरकारको पानी खर्च गर्छु, बिजुली खर्च गर्छु, इन्टरनेटको पैसा खर्च गर्छु अनि फर्किन्छु । फर्किँदा गाडीको धुवाँ उडाउँछु, तेल खर्च गर्छु, त्यही हो ।’

जिम्मेवारी किन नदिएको भन्नेबारे सम्बन्धित मन्त्री र सचिवलाई प्रश्न गर्नुभएन् ? भन्ने प्रश्नमा सहसचिव पाण्डे भन्छन्, ‘कति भन्ने ? भन्दा भन्दैं म त थाकिसके । ल जिम्मेवारी दिन्छौं दिन्छौं भन्छन्, तर अहिलेसम्म दिएका छैनन् । पछिल्लो दुई महिनादेखि त केही भन्न पनि छोडिसकेँ । बिहान १० बजे मन्त्रालयमा आएर दिनभर केही काम नै नगरी बसेर बेलुका पाँच बजे घर जान्छु ।’

तपाईले खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरलाई चरम घुस्याह रहेको आरोप किन लगाउनुभयो भन्ने प्रश्नमा पाण्डेले भने, ‘जसले घुस दिन्छ उनीहरुलाई राम्रो काममा लगाउँन्छन् । मैले एक पैसा पनि घुस दिएको छैन् । त्यसैले ६ महिनादेखि जिम्मेवारी विहिन बनाएका छन् ।’

गत साउनदेखि पुस महिनासम्मको कार्यसम्पादन मूल्यांकन फारममा पाण्डेले मन्त्री सचिवलाई घुस्याहको संज्ञा दिएका हुन् । पाण्डे गत भदौ २१ गतेदेखि खानेपानी मन्त्रालयमा हाजिर भएका थिए । त्यसअघि उनी सुदूरपश्चिम प्रदेशमा थिए । मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरको स्वार्थ पूरा नहुने देखेर आफूलाई जिम्मेवारी नदिइएको ठोकुवा उनले गरे ।

मलाई किन जिम्मेवारी नदिइएको भनेर मन्त्री र सचिवसँग भन्नुभयो कि भएन ? भन्ने प्रश्नमा पाण्डे भन्छन्, ‘काम दिनुपर्छ भन्ने कुरा उहाँहरुलाई थाहा छैन र ? नेपाल सरकारको स्यानेटरी उपसमूहको १७ जनामध्ये सबैभन्दा सिनियर कर्मचारी हुँ म । सबैभन्दा सिनियरलाई काम नदिनु भनेको उहाँहरुको स्वार्थ पूरा हुँदैन होला । म ठोकुवाका साथ भन्छु, मलाई काम दिँदाखेरि उहाँहरुको स्वार्थ पूरा नहुने भएरै काम नदिनु भएको हो । धेरै पटक उहाँहरुलाई म काम विहिन भएर बसेको छुँ । मलाई कुनै जिम्मेवारी दिनुहोस् भन्दा भोली दिन्छौं, पर्सि दिन्छौं भन्दै कुरा टार्छन् । यो विषयमा उहाँहरुलाई नै सोध्दा राम्रो होला ।’

नियम कानूनै नमान्ने कर्मचारीलाई जिम्मेवारी किन दिने ? खानेपानी सचिव
खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले आफुहरुमाथि लगाएको आरोप गलत भएको प्रतिक्रिया दिएका छन् । सचिव ठाकुरले सरकार नीति नियमको आधारमा चल्ने भएको भन्दै सहसचिवले लगाएको आरोप गलत, निराधार रहेको दाबी गरे ।

तपाईहरुलाई त घुस्याहाको आरोप लगाए नि भन्ने प्रश्नमा सचिव ठाकुर भन्छन्, ‘त्यो सरासर गलत हो । मन्त्रालयले सबैलाई दरबन्दी अनुसार नै जिम्मेवारी दिएको छ ।’

सहसचिवलाई ६ महिनादेखि किन कुनै पनि जिम्मेवारी नदिनुभएको भन्ने प्रश्नमा सचिव ठाकुर भन्छन्, ‘दरबन्दीमै हुनुहुन्छ । सरकारी काम कुनै व्यक्तिको होईन् । उचित समयमा सबै काम पाईन्छ । सरकार नियम कानूनमा चल्छ । सिस्टमबाट चल्छ । विधि विधानबाट चल्छ । जसले नियम कानूननै मान्दैन् । जसलाई अदालतले जिम्मेवारी नदिनु भन्ने आदेश दिएकालाई कसरी कामको जिम्मेवारी दिने ।’

सचिव ठाकुरका अनुसार अदालतले सहसचिवलाई पाण्डेलाई कुनै पनि जिम्मेवारी नदिनु भन्ने आदेश दिएको छ । सोही बमोजिम अहिलेसम्म जिम्मेवारी नदिईएको सचिव ठाकुरको भनाई छ ।

Logo