नेपाल लोडसेडिङको खतरामा नै छः अध्यक्ष कार्की

नेपाल लोडसेडिङको खतरामा नै छः अध्यक्ष कार्की

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । नेपालमा उर्जा क्षेत्रले ठूलो सम्भावना बोकेको भए पनि यसको विकास र आत्मनिर्भरताका लागि आवश्यक कदमहरु उठाउन ढिलाइ भइरहेको छ । यही सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीसँग नेपाल विद्युत् उत्पादनको वर्तमान अवस्था तथा भविष्यका सम्भावनाबारे पाँच महत्वपूर्ण प्रश्न गरेका छाैं। प्रस्तुत छ, सो संवाद-

नेपालमा उर्जामा लगानी गर्नसक्ने अवस्था छ ?

-संसारभर नेपाल सरकारले नेपालमा लगानी गर्ने वातावरण छ है भनिरहेको छ । तर, यति भनेको भरमा विदेशबाट लगानी आउँछ भन्ने लाग्दैन । सरकारले सबैभन्दा पहिला लगानी गर्न प्रोत्साहन गर्न पर्यो । नेपालमा भएका थुप्रै नितीगत सुधारहरु गर्नुपर्यो । अनि मात्रै नेपालमा लगानी गर्न सम्भव छ । किनभने अहिले भारतबाट विद्युत आएन, तामाकोसी बन्द भयो भन्दा लोडसेडिङ हुन्छ भनेर भन्दै जाँदा हामी विद्युतमा आत्मनिर्भर कहिले हुने त ? लगानी गर भन्नलाई पहिला आत्मनिर्भर हुनपर्यो । त्यसैले लगानी गर भन्नु भन्दा पहिला उत्पादनलाई जोड दिन आवश्यक छ । उत्पादनलाई जोड दिँदादिँदै ट्रान्मिशन लाइनलाई जोड दिनपर्छ । यदी, सरकारले मात्रै विद्युत व्यापार गर्न सक्दैन भने निजी क्षेत्रलाई, हामीलाई दिनुपर्छ । हामी सरकारलाई सघाउँछौं ।

लगानीका लागि प्रोत्साहन गर्न सरकारले गर्नुपर्ने कामहरु के-के हुन् ?

-लगानी गर्नका लागि प्रतिफल निश्चित गरेर कुनै एउटा सेक्टर छुट्याउनुपर्यो । नीतिगत समस्याहरुलाई व्यवहारिक रुपमा फुकाउनुपर्यो । लगानीको प्रक्रिया सरल बनाउनु पर्यो । विद्युत विधेयक लगानीमैत्री बनाउन पर्यो । विधेयकको नाममा बाँध्न खोज्नुभएन । पीपीएहरु खोल्नुपर्यो । बैंकहरुलाई चलायमान बनाउनुपर्यो ।

यतिबेला नेपालले विद्युत बेच्न सक्ने अवस्थामा छ ?

-आजको दिनमा बिजुली बेच्नुपर्ने स्थिती छैन् । किनभने, हामी १३ हजार ५ सय मेगावट विद्युत २०३५ सम्म खपत गर्छौं भनेर लागिरहेका छौं । खपत गर्नलाई प्रोत्साहन गर्नुपर्यो । कुनैदिन घरमा ६ बजेदेखि ८ बजेसम्म बिजुली काटिन्छ भनेर समाचार सुन्न अब धेरै दिन कुर्नु पर्दैन । विजुली बेच्नका लागि पहिला उत्पादन गर्नुपर्यो । उत्पादन भएको विजुली देशमा खपत गर्न प्रोत्साहन गर्नुपर्छ । तब मात्रै हामी विजुली बेच्न सक्छौं । किनभने अहिले चार महिना आफ्नै बिजुली खपत गर्छौ र आठ महिना भारतबाट बिजुली खरिद गरिरहेको अवस्था छ । त्यसैले, नेपालमा लोडसेडिङको कुरा सुनिन थालेको हो ।

के नेपाल फेरि लोडसेडिङको खतरामा जान थालेको हो ?

-नेपाल लोडसेडिङको खतरामा नै छ । किनभने, यो भन्दा अघिल्लो वर्ष पनि भारतबाटै विजुली ल्याएर लोडसेडिङ मुक्त गरेका थियौं । यो वर्ष पनि भारतबाट विजुली ल्याउँछौं । तर, तामाकोशी जस्तो ठुलो प्रोजेक्ट बन्द भइदियो भने नेपालमा विद्युत ठप्प हुनसक्छ । त्यसैले, बर्खामा र हिउँदमा आवश्यक पर्ने विद्युत कति हो थाहा पाएर काम गर्न सकियो भनेसुरक्षित हुन सक्छौं । होइन भने हामी समस्यामा पर्न धेरै समय लाग्दैन ।

नेपाल विद्युतमा आत्मानिर्भर हुनसक्ने सम्भावना कतिको छ ?

-आठ महिना भारतबाट बिजुली किन्नुपर्ने अवस्था रहिरह्यो भने अबको १० वर्ष होइन अर्को दश वर्षमा पनि बिजुलीमा आत्मनिर्भर हुन सक्दैनौं । भारतबाट बिजुली किन्नैपर्ने हुन्छ । हामी मात्र आत्मनिर्भर हुने हो भने सरकारले २०२५ सम्म १३ हजार मेगावट विद्युत उत्पादन भयो भने पुग्छ भनेर भनिरहेको बेलामा १३ हजार मेगावट विद्युत त १२ महिना पुग्ने बिजुली हामीसँग हुनुपर्यो नि ।

Logo