चार वर्षदेखिका इँटा स्टकमा, छैन बिक्री

चार वर्षदेखिका इँटा स्टकमा, छैन बिक्री

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । इँटाभट्टा उद्योगीहरुले विगत झैं यस वर्ष पनि इँटा पोल्ने तयारी थालेका छन् । वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले केही ढिलागरी भट्टामा इँटा पोल्न आगो लगाउने तयारी गरेका हुन् ।

व्यवसायीले करिब पाँच महिना निरन्तर इँटा पोल्ने बताएका छन् । यसै सिलसिलामा २०४६ सालदेखि इँटा उद्योग चलाइरहेका भक्तपुर नगरपालिका–९ का नातिभाइ ह्योम्वाले इँटा पोल्ने कामको तयारी भइरहेको बताए । भक्तपुर इँटा उद्योग व्यवसायी संघको अध्यक्ष समेत रहेका ह्योम्वासँग समसामयिक विषयमा गरिएको कुराकानी यस्तो छ ।

काचो इँटाको तयारीदेखि कारखानासम्म निर्माणको प्रक्रिया कसरी गरिन्छ ?
सुरुमा हामीले इँटालाई जम्मा गरेर राखेका हुन्छौँ । त्यसलाई मेशिनले पेल्छौं । त्यो पेलेको माटो इँटा बनाउनेहरुको खलमा लैजान्छौं । त्यसपछिको इँटा बनाएर सुकाउने काम त्यहीँ हुन्छ । त्यसपछि सुकेको इँटा भट्टामा ल्याउने काम गर्छौ ।

भट्टामा इँटा पोल्ने काम कहिले हुन्छ, त्यसको उपयुक्त समय कुन हो ?
औद्योगिक प्रवद्र्धन बोर्ड, नेपाल इँटा उद्योग महासंघ र उद्योग मन्त्रालयको सहकार्यमा एउटा निर्णय भएको छ । नेपाल अधिराज्यभर नै अहिले वातावरणमा प्रदूषण बढ्ने भएकाले पुष मसान्तसम्म इँटा उद्योगमा आगो नलगाउनु भन्ने निर्देशन छ । वातावरण प्रदूषण हुने भएकाले पुषसम्म इँटा उद्योगमा आगो नलगाउँदा ठिक होला भन्ने हाम्रो पनि बुझाइ छ ।

पुष महिनामा धेरै हावा चलेको हुदैँन, सबै इँटाभट्टाहरुमा एकै पटक आगो लगाउने हो भने यसले वातावरणलाई धेरै प्रभाव पार्ने हुँदा माघ लागेपछि मात्र काम सुरु गर्दा उपयुक्त हुन्छ । यही कुरालाई ध्यानमा राखेर माघ १ गतेदेखि भक्तपुर जिल्लामा भट्टाहरु सञ्चालन हुन्छन् ।

भट्टामा आगो लगाउदाँ केके विधिहरु अपनाउनु हुन्छ ?
पहिला पहिला इँटा उद्योगमा प्रविधि नजान्दा धेरै दाउरा बाल्ने गरिन्थ्यो । विगत २० वर्षदेखि कोइला सल्काउनलाई थोरै दाउरा प्रयोग गर्ने गरेका थियौं । अहिले ग्यासको प्रयोग गर्ने गरेका छौँ । यसले दाउरा पनि बच्यो र वातावरणको हिसाबले पनि दाउराभन्दा ग्यास बाल्नु राम्रो हुन्छ जस्तो लाग्यो । खर्चको हिसाबले पनि दाउरामा धेरै खर्च हुन्थ्यो । ग्यास केही मात्रामा सस्तो पर्छ ।

इँटाभट्टा व्यवसायको अहिलेको अवस्था के छ ?
समग्र उद्योगको स्थिति नै ठिक छैन । समग्र व्यवसायी र व्यापारीहरु पनि समस्यामा छन् । आर्थिक क्रियाकलाप नै कम भइरहेको छ, इटा उद्योग पनि त्यसमा अछुतो रहेन । उत्पादन भएका तीन–चार वर्षदेखिका इँटा स्टकमा छन् । बिक्री छैन । बिक्री कम छ । रेट पनि राम्रो छैन । अन्य उद्योग जस्तो बन्द गरेर पनि राख्न सकिदैन । जग्गा भाडामा हुन्छ, गाडीहरु छन्, कामदारहरु छन् । जसले गर्दा बाध्य भएर पनि चलाउनुपर्ने अवस्था छ । पोहोर साल ७५ दिन मात्र आगो लगाउने काम गर्यौं । त्यसमा पनि इँटा खपत भएन । अहिले पनि हामीसँग धेरै स्टकमा छ । अहिले बजारमा इँटाको माग धेरै कम छ ।

माग कम हुनुको मुख्य कारण के होला ?
अहिले निर्माण कार्य नै कम भएको जस्तो लाग्छ । धेरैजसो युवाहरु विदेश पलायन भएकाले काठमाडौंमा घर निर्माण नभएजस्तो लाग्छ । हाम्रो अनुमान पनि मान्छेको जनघनत्व र आयस्रोत नै कम भएर पनि घर बनाउने काम कम भएको जस्तो लाग्छ ।

स्थानीय सरकारले उद्योगको लागि कस्तो व्यवस्था र सहयोग गरेको छ अथवा सहयोग पाउनु भएको छ कि छैन ?
स्थानीय सरकारले सहयोग गरेको छैन भन्न पनि मिल्दैन । तर सहयोगभन्दा पनि बढी दुःख पाइरहेका छौं । स्थानीय सरकार आएपछि दुःख र झन्झट बढी भएजस्तो अनुभूति हुन्छ । किनभने हाम्रो उद्योग चलिरहँदा पनि यो ठाउँको माटो निकाल्न मिल्दैन, यस्तोउस्तो गर्नु हुन्न, भाडा तिरिरहेको जग्गाको माटो लिँदा पनि कर लिने जस्ता विभिन्न किसिमबाट नगरपालिकाले दुःख दिइरहेको छ ।

जनप्रतिनिधिहरु आएपछि धेरै समस्याहरु आइरहेका छन् । मेयरहरुले काम सुरु गर भनेर सिफारिस दिनुहुन्छ तर स्थानियबासीले अवरोध गर्ने गरेका छन् । खुल्ला ठाउँमा गर्नुपर्ने काम हो, चोरेर गरेको काम होइन । विभिन्न समस्याहरु आए पनि समाधान गर्दै अगाडि बढेका छौा । इँटा उद्योगहरु अब आधुनिक रुपमा अघि बढेका छन् । वातावरण संरक्षण गर्नको लागि पनि नयाँ प्रविधिमा गइसकेका छौँ । विगत आठ नौं वर्षदेखि नयाँ प्रविधिमा अपनाएका कारण वातावरण प्रदूषण पनि कम भएको छ ।

चिम्नीले कालो धुवा फाल्दैन । अब नयाँ प्रविधि प्रयोग गर्दा, प्रदूषण जाँच गर्छौँ र सरकारले तोकेको भन्दा पनि धेरै कम प्रदूषण हुनेगर्छ । त्यसलाई पनि अझ कम गर्नको लागि अझै अध्ययन भइरहेको छ । हालै इन्जिनियरहरुले इटा उद्योगमा गर्न सकिने कामको डेमो गरेर देखाउनुभएको छ । यसलाई पनि धेरै मात्रामा गर्न सकिने हो भने अझ प्रदूषणलाई जिरोमा नै लान सक्छौ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा मात्र भट्टाहरु बढी भयो, यसले असर पारेको छ भन्ने गुनासो छ । यसप्रति तपाईको धारणा के छ ?
निश्चित रुपमा उद्योगमा काम गर्दा अलिकति असर त हुन्छ । नगरपालिकामा मात्र भट्टा उद्योग हुनुको मुख्य कारण भनेको २०६१ देखि नै कुनै इँटा उद्योग दर्ता भएको छैन । नगरपालिकामा पहिला घरहरु थिएन, फाँट थियो । हामीले उद्योग सञ्चालन गरेको समयमा यहाँ कुनै पनि घर थिएन । त्यो बेलादेखि नै यहाँ काम गर्दै आएको हो । अहिले यहाँ जग्गा किनबेचले गर्दा बस्तीहरु बस्न आएको हो । तर चाँगुनारायण नगरपालिका मात्र होइन भक्तपुर जिल्लामा एक समयमा एकसय १८ वटासम्म इटा उद्योग सञ्चालनमा थियो । अहिले संख्या घटेर ६०–६२ वटा पुगेको छ । त्यसमा पनि यसपाली ४०–४२ वटा मात्र सञ्चालन हुन्छ कि भन्ने अनुमान छ ।

इँटा व्यवसाय सञ्चालनका लागि कस्तो कस्तो कच्चा पदार्थको आवश्यक पर्छ ?
कच्चा पदार्थ भन्दा मुख्य कुरा माटो नै हो । अहिले माटो नै सकिँदै गएको छ । बिना माटो इटा उद्योग सञ्चालन हुँदैन । यसका साथै कोइला र भुस इन्धनको रुपमा प्रयोग गर्छौँ । चिम्टाइलो खालको माटो हुन्छ । त्यसले इँटा बनाउँदा राम्रो र गुणस्तरको हुन्छ र त्यही माटोको प्रयोग पनि बढी हुन्छ । अहिलेका लागि भक्तपुरमा माटोको त्यस्तो कमी छैन ।

हामीले माटोको सदुपयोग गर्न सकेनौं र माटो लिन जाने ठाउमा समस्याहरु आइरहेको छ । काम नलाग्ने, खेती योग्य नभएको जग्गाबाट माटो निकाल्दा खेतीयोग्य पनि हुन्छ । त्यो घडेरीको रुपमा पनि प्रयोग हुन्छ । त्यसकारण निकाल्नैपर्ने माटो मात्र प्रयोग गरेका छौ । भक्तपुर इँटा उद्योग छेउमा भने माटो छैन । अहिले छिमेकी जिल्लाहरुबाट पनि माटो ल्याउने काम भइरहेको छ ।

Skip This
Skip This
Logo