काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका इँटा उद्योगहरूमा इँटा निर्माणको काम सुरु भएको छ । यही माघ १ गतेदेखि भट्टाहरूमा इँटा पोल्ने काम सुरु हुने व्यवसायीहरूको भनाइ छ ।
इँटा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरूबाट मजदुरहरू उपत्यका भित्रिरहेका छन् । तर जोखिमपूर्ण मानिने इँटा बनाउने कामप्रति मजदुर त्यति खुशी छैनन् । जीवन गुजारा चलाउन उद्योगहरू राम्रो भए पनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन् ।
काभ्रेबाट आएका शिवबहादुर तामाङले ६ वर्षदेखि इटा बनाउँदै आए पनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताए । ‘मैले इँटा बनाउन थालेको ६ वर्ष भयो । पहिला र अहिले काममा धेरै भिन्नता आइसकेको छ । पहिला आफैँले माटो मुछेर काम गर्नुपर्ने थियो, धेरै दुःख हुन्थ्यो । अहिले मेसिनहरूका कारण केही सहज भएको छ,’उनले भने,‘तर इँटा बनाउन जति दुःख छ त्यति पारिश्रमिक छैन । हजारवटा इँटा बनाएको १२ सय ५० आउँछ । दिनमा दुई हजारदेखि २५ सय इट्टा बनाउन सकिन्छ । बिहान २ बजेदेखि रातको ११ बजेसम्म खट्छु तर पारिश्रमिक दुःख गरेअनुसार छैन ।’
शिवबहादुरका अनुसार रासनपानी खानका लागि दश दिनलाई हप्ता मानेर दुई हजारदेखि चार हजारसम्म दिइएको हुन्छ । उनले भने,‘काम गरेको पुरै पैसा काम सकिएपछि बैशाखतिर मात्र आउँछ । जति धेरै इँटा बनायो, उति पैसा आउँछ । डेढ लाख जति बनायो भने एकलाख ७५ हजार रुपैयाँ आउँछ । दुई लाख बनायो भने दुई लाख ५० हजार पैसा हुन्छ । दुःख गरेअनुसार यो पैसा थोरै नै हो ।’
अन्यन्त्र रोजगारी नभएका बेला इँटा बनाउने कामले आफूहरूलाई सन्तुष्टि दिएको मजदुरहरूको भनाइ छ । ‘अन्त काम छैन । सिजनका बेलामा अलिअलि भए नि कमाइ हुन्छ । बालबच्चा पाल्नुपर्छ । आफूले पनि खानैपर्छ । सिजनका बेला भट्टामा आउँछु । भट्टाको सिजन सकिएपछि बाहिरतिर काम खोज्नुपर्छ,’ उनले भने ।
बजारमा पाकेको इँटाको १४ देखि १५ रुपैयाँ रहेको उनले सुनाए । इँटा व्यवसायबाट साहूहरूलाई पनि समस्या नै भएको उनको भनाइ छ । ‘हुन त साहूहरूलाई पनि धेरै गाह्रो होला । जग्गाको भाडा तिर्नुपर्छ, माटो किन्नुपर्छ, इँटा बनाउने र बोक्नेहरूलाई पैसा दिनैपर्छ,’ उनले भने,‘तर हाम्रो श्रम अनुसारको पारिश्रमिक न्यून हो । कम्तिमा एक हजार इट्टा बनाएको १५ सय हुनुपर्ने हो, तर १२ सय ५० मात्र पाएका छौँ । हामीलाई घाटा छ । एक बोरा चामलको २५ सय पर्छ । सबै खाद्य सामग्री महँगो छ ।’
यता, इँटा उद्योगीहरूका आफ्नैखाले समस्याहरू छन् । धेरैले रोजगारी पाए पनि व्यवसायमा धेरै समस्याहरू रहेको भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाको भनाइ छ ।
‘उद्योगका कारण मजदुरहरूको अवस्था सुधारिएको छ । शिक्षाको क्षेत्रबाट बञ्चित भएका, आर्थिक स्तर कमजोर भएकाहरूलाई इँटा उद्योगले रोजगारी दिलाएको छ । रोल्पा, रुकुम, सल्यान पूर्वतिरको विकट जिल्लातिरका मजदुरहरूका लागि उद्योगले आर्थिक स्तरमा सुधार ल्याएको छ,’ अध्यक्ष ह्योम्वाले भने,‘मजदुर मात्र होइन स्थानीय ठाउँकै आर्थिक स्तरमा बृद्धि भएको छ । ३० हजार कामदारले रोजगारी पाएका छन् । एक सिजनमा भक्तपुरमा मात्रै तीन करोड रुपैयाँसम्म मजदुरहरूलाई वितरण गरेको रेकर्ड छ ।’
जति संख्यामा इँटा बनायो उति नै पारिश्रमिक दिने गरेको उनले बताए । श्रीमान्–श्रीमती नै मजदुरी गर्नेहरूलाई दिनमै ३६ सय रुपैयाँसम्म वितरण गरेको उनले सुनाए ।
इँटाको मूल्य निर्धारण इँटाको गुणस्तर अनुसार हुने गरेको उनले बताए । तर इँटा स्टक बस्दा व्यवसायीहरू मारमा परेको उनको भनाइ छ । अध्यक्ष ह्योम्वाले इँटा उद्योग सिजनल भएकाले ट्याक्समा आफूहरूलाई मार परेको बताए ।
उद्योगी र सरकार मिलेर जानुपर्नेमा आफूहरू मारमा परेको उनले सुनाए । तर सरकारले उद्योगमा सहजीकरण गरे मजदुरहरूको समस्या समाधान गर्न कठिन नहुने उनले बताए ।































प्रतिक्रिया